हैरान पार्ने कोटेश्वरको जाम यसरी अन्त्य हुँदै छ

४ बर्ष अगाडि

सवारी चालक र यात्रुलाई हैरान पार्ने कोटेश्वरको सवारी जाम कम गर्न सरकारले नयाँ योजना ल्याएको छ । 

भक्तपुरतर्फबाट काठमाडौं आउजाउ गर्ने प्रमुख नाका कोटेश्वरमा बढ्दो सवारी जाम कम गर्न तत्कालका लागि सडक विस्तार गर्ने र दिर्घकालमा अण्डरपास वा फ्लाईओभर बनाउने तयारी थालिएको हो । 

तत्कालको समस्या समाधानको उपायका रुपमा सडक चौडा पार्ने काम गरिने सडक विभागले जनाएको छ । 

तत्काल समस्या समाधानको योजना अन्तर्गत आगामी आर्थिक वर्षभित्र डेडिकेटेड लेन बनाउने योजना रहेको सडक विभागले जनाएको छ । 
त्यसका लागि त्रिभुवन विमानस्थलतर्फ एक लेन र अर्कोतर्फ तीन लेन विस्तार हुने छ । 

सडक विस्तार गर्नका लागि जग्गा अधिग्रहण गर्न अघिल्लो साता मन्त्रीपरिषदले स्वीकृति दिएसँगै अधिग्रहणको काम अगाडी बढेको छ। 

तत्काल सडक विस्तार गर्दा तिनकुनेबाट कोटेश्वर हुँदै पेप्सीकोला जाने र भक्तपुरबाट कोटेश्वर हुँदै सातदोबाटो जाने सवारीसाधन रोकिनु नपर्ने विभागले जनाएको छ । 

त्यसैगरि सरकारले दिर्घकालिन समस्या समाधान गर्दा तीनवटा विकल्प अघि सारेको छ । जसमा तिनकुनेबाट भक्तपुरतिर जान र बालकुमारीतिर जान सडकमुनि दुईवटा १ हजार १ सय ४० मिटर लम्वाईको सुरुङ्गमार्ग निर्माण, तिनकुनेबाट बालकुमारीतिर जाने सडक (रिङरोडमा) १ हजार ३ सय २० मिटरको फ्लाइओभर र भक्तपुरतिर जाने सडकमा आउन र जान १ हजार ८ सय ६० मिटर लामो दुईवटा सुरुङमार्ग निर्माण गर्ने छन् । 

सरकारको आग्रहमा जापान सहयोग नियोग (जाइका)को सहयोगमा यी योनजाको प्रारम्भिक अध्ययन भइसकेको छ । 

यसमध्ये कुन योजना अगाडी बढाउने भन्ने विषयमा भने निर्णय भइसकेको छैन । तर जापानी र नेपाली टोलीको संयुक्त बैठक बसेर निर्णय गर्दै अघि बढाउने योजना रहेको सडक विभागले जनाएको छ । 
पहिलो योजना अन्तर्गत बानेश्वरबाट दुईतर्फ सुरुङ्ग बनाउन करिब २४ अर्ब रूपैयाँ लाग्ने जनाईएको छ । 

दोश्रो फ्लाईओभर निर्माणका लागि करिब ९ अर्ब ९० करोड रूपैयाँ र तेश्रो विकल्पको रुपमा रहेको भक्तपुरबाट बानेश्वर र बालकुमारीतिर जान सुरुङमार्ग निर्माणको लागि पनि २४ अर्ब ६ करोड लाग्ने अनुमान छ। 

यी मध्ये कुन योजना उपयुक्त हुन्छ भन्ने विषयमा नेपालले धारणा बनाउने र मार्चमा जापानी टोली काठमाडौं आएपछि  कोटेश्वरको विस्तृत संभाव्यता अध्ययन गर्ने सहमति हुने जनाइएको छ ।

सोही छलफलको क्रममा जापानकै ऋण सहयोगमा एउटा विकल्प छानेर निर्माण प्रकृया अगाडि बढाइने सरकारी अधिकारीहरुले बताएका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया