तनहुँमा चार वर्षमा ९५ प्रतिशत नहर मर्मत

४ बर्ष अगाडि

तनहुँको सबैभन्दा ठूलो सिँचाइ आयोजनाको नहर मर्मतको काम ९५ प्रतिशत सम्पन्न भएको छ । घिरिङ गाउँपालिका–१ स्थित अत्रौली पुट्टार सिँचाइ उपआयोजनाको नहर मर्मतको काम ९५ प्रतिशत सम्पन्न भएको हो ।

छ वर्षअघि पहिराले भत्काएर बन्द रहेको आयोजनाको नहर मर्मतका लागि विसं २०७२ माघदेखि काठमाडौँस्थित रायमाझी कन्सट्रक्शन प्रालिले काम गरेको थियो । 

आयोजनाको म्याद पुस मसान्तमा सकिएकाले हाल मर्मतको काम पनि रोकिएको अत्रौली पुट्टार जल उपभोक्ता समितिका अध्यक्ष रामजी अर्यालले जानकारी दिए ।

“विभिन्न समस्याका कारण तोकिएको समयभित्रै नहर मर्मतको काम हुन सकेन”, उनले भने, “म्याद थप गर्न सिँचाइ कार्यालयले एशियाली विकास बैंकलाई अनुरोध गरेको छ ।” 

साढे १८ किलोमिटर आयोजनाको मर्मतका लागि विसं २०७५ मङ्सिरमा र विसं २०७६ जेठमा पनि म्याद थप भएको अर्यालले जानकारी दिए । 

एशियाली विकास बैंकको लगानीमा नहर मर्मतका लागि विसं २०७२ असोज १७ गते सिँचाइ विभाग र सिँचाइ योजना जल उपभोक्ता समितिबीच सम्झौता भएको थियो ।

 विसं २०७२ मङ्सिर १८ गते बोलपत्र स्वीकृत भई माघदेखि रायमाझी कन्सट्रक्शन प्रालि काठमाडौँले नहर मर्मतको काम शुरु गरेको थियो । एशियाली विकास बैंक ९एडिबी० ले नहर मर्मतका लागि रु २० करोड ८० लाख सहयोग गरेको थियो । 

विसं २०६९ मा गएको भीषण पहिराले आयोजनाको नहर भत्किँदा आयोजना अवरुद्ध बनेको थियो । पहिराले अवरुद्ध भएको सिँचाइ योजना नहर मर्मतपछि आंशिकरूपमा सञ्चालनमा आएको छ । 

आर्थिक वर्ष २०७१÷७२ मा नेपाल सरकारले विनियोजन गरेको रु १५ लाख र स्थानीय उपभोक्ताको रु दुई लाख २५ हजार जनश्रमदानमा योजना आंशिकरूपमा सञ्चालन भएको थियो । नहरबाट गाउँपालिकाका बैडी, अत्रौली, पुट्टार क्षेत्रको करीब छ हजार ६०० रोपनी जमीनमा सिँचाइ सुविधा पुगेको थियो । 

बैडी र अत्रौली क्षेत्रमा सानो मात्रामा पानी आए पनि पुट्टार क्षेत्रमा सिँचाइका लागि पानी नआएको छ वर्षभन्दा बढी भएकामा गत वर्ष मात्रै योजनाको पुछार ९पुट्टार० सम्म पानीको सुविधा पुगेको थियो । 

अर्यालका अनुसार साइफन मर्मत नभएका कारण पुट्टारसम्म पानी आउन सकेको थिएन । हाल साइफन मर्मत सम्पन्न भएको छ । सिँचाइ आयोजनाबाट यहाँका ८६० घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया