नाकामा पर्यटक तानातान गर्नेलाई कारवाही गरिने

४ बर्ष अगाडि

पूर्वीनाका काँकडभिट्टामा भित्रिएका पर्यटकलाई आफ्ना होटल, बस र आँखा अस्पतालमा लैजाने बहानामा तानातान गर्नेलाई कारवाही गरिने भएको छ । 

काँकडभिट्टाबाट काठमाडौँ, लुम्बिनी, पोखरालगायतका स्थानमा जाने रात्रि तथा दिवाकालीन बस सेवा सञ्चालित छन् । ती बस सेवाका लागि यात्रु र उनीहरुका झोला बसपार्कमा तानातान गरिँदै आइएको छ ।

 स्थानीय आँखा अस्पताल र होटल लजका लागि ग्राहक बनाउनसमेत नाकामा पर्यटकलाई जबर्जस्ती गर्ने गलत प्रवृत्ति छ ।

अब कसैले पर्यटकलाई तानेर हैरानी दिएको फेला परेमा कानूनबमोजिम कारवाही गर्न सर्वपक्षीय सहमति जुटाइएको मेचीनगर नगरपालिका–६ का अध्यक्ष ललित तामाङले जानकारी दिए । 

उनका अनुसार होटल व्यवसायी, यातायात व्यवसायी, प्रहरी प्रशासन, स्थानीय सामाजिक सङ्घसंस्थालगायतका प्रतिनिधिको छलफलले त्यस्तो तानातान प्रवृत्तिको अन्त्य गर्ने र कसैले अटेर गरेमा प्रहरीमार्फत कानूनी कारवाही चलाइने निर्णय गरेको हो ।

भूटान, बङ्गलादेश र म्यान्माका पर्यटक सोझै काँकडभिट्टा आएर पर्यटकीय गन्तव्य लुम्बिनी, पोखरा र सोलुखुम्बुसम्म पुग्ने गर्छन् । कोलकाता, सिक्किम, दार्जिलिङ र भूटानका पर्यटकले बसयात्रा गर्नका लागि काँकरभिट्टा बसपार्क एकमात्र विकल्प हो । 

नेपाल भ्रमण वर्ष २०२० चलिरहेको हुँदा पर्यटकलाई स्वागत गरिने नाकामै तानातान गर्ने असभ्य शैलीलाई हटाउने सर्वपक्षीय निर्णयलाई ग्रीन जेनेरेसन झापाका अध्यक्ष एवं पर्यटन अभियानकर्मी अर्जुन कार्की सकारात्मक कदम भन्छ्न । “पर्यटकलाई स्वागत र सम्मान गर्नुपर्दछ, तर बसपार्क र नाकामै तानातान हुनु लज्जास्पद अवस्था थियो”, अध्यक्ष कार्कीको धारणा छ ।

काँकडभिट्टा बसपार्क र मूलगेटमा रहेको तानातान प्रवृत्ति हटाउन विगतदेखि प्रयास भइरहेको थियो । 

बसपार्कमा कमिशन एजेन्टले र मूलगेटमा केही आँखा अस्पतालले खटाएका प्रतिनिधिले भारतबाट भित्रिएका पाहुनालाई आफ्नातिर लैजान प्रहरीको आँखा छलेर जबर्जस्ती गर्दै आएका थिए । 

होटल र लजले समेत एजेन्ट खटाएर बसपार्क र मूलगेटमा पर्यटक तान्ने कार्य गर्दै आएका थिए ।

मान्छे तानातानको धन्दाले नेपाल घुम्न आउने पर्यटक, उपचारका लागि आउने बिरामी र भारत घुमेर फर्कने नेपालीलाई निकै सकस हुने गरेको थियो । 

जनगुनासो बढेपछि स्थानीय सरकार र प्रहरीले तानातान प्रवृत्ति हटाउन बल्ल अग्रसरता देखाएको छ । 

काँकडभिट्टा पर्यटक प्रवेश गर्ने महत्वपूर्ण नाका भएको हुँदा यहाँ आउने हरेक विदेशी पाहुनालाई मैत्रीपूर्ण व्यवहार गर्न वडाध्यक्ष तामाङले सबै व्यवसायीलाई आह्वान गर्नुभएको छ ।

 काँकडभिट्टा नाकाबाट २८ मुलुकका पर्यटक नेपाल भित्रिने गरेका छन् ।सर्वपक्षीय निर्णयको कार्यान्वयनपछि उनीहरुले चाहेको होटलमा बस्न पाउने, गाडीमा चढ्ने सक्ने र उपचारका लागि छानेर आँखा अस्पताल जान पाउने वातावरण बन्ने अपेक्षा गरिएको छ ।

मेची उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष बीना तामाङ विगतमा पनि तानातान हटाउने निर्णय भएको स्मरण गर्दै अब कार्यान्वयन पक्षमा कमजोरी गर्न नहुने धारणा राखछ्न । 

उनले नाकामा रहेका सबै नागरिकले पर्यटनमैत्री व्यवहार सिक्नुपर्ने र पर्यटकको स्वतन्त्रतामाथि अवरोध पु¥याउन नहुने बताए।
 
बसपार्क क्षेत्रमा अव्यवस्थित पार्किङ, फोहरमैला र पर्यटक तानातान नगर्न पहिलो चरणमा माइकिङमार्फत सूचना गर्ने र यात्रुहरुलाई अशिष्ट र अभद्र व्यवहार गरेको पाइएमा कानूनअनुसार कारवाही गरिने इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए । 

उनले दोषीमाथि अभद्र व्यवहारसम्बन्धी कानून आकर्षित हुने बताएका छन  ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया