बेंगाजी आक्रमणका आरोपीलाई १९ वर्षको जेल सजाय

४ बर्ष अगाडि

सन् २०१२ मा लिबियाको बेंगाजीस्थित अमेरिकी नियोगमा आक्रमण गरेको आरोपमा पक्राउ परेका एक ४७ वर्षीय लिबियालीलाई अमेरिकामा १९ वर्षको जेल सजाय दिइएको छ । 

अमेरिकी विशेष फौजले ४७ वर्षीय मुस्तफा अल–इमामलाई लिबियाबाट पक्राउ गरी अमेरिकामा मुद्दा चलाएको थियो । 

मुस्तफामाथि आतंकवाद र अन्य अपराधमा दोषी ठहर गरिएको थियो । अमेरिकी जिल्ला न्यायालयले मुस्तफालाई १९ वर्ष ६ महिनाको जेल सजाय तोकेको छ ।

लिबियाको बेंगाजीस्थित अमेरिकी नियोग र सिआइएको परिसरमा सेप्टेम्बर ११, २०१२ मा भएको आक्रमणमा अमेरिकी राजदूत क्रिस स्टिभेन्स र अरु तीन जना अमेरिकी मारिएका थिए । 

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले अमेरिकी नागरिकमाथि जघन्य अपराधमा संलग्न जोकोहीमाथि कडा सजाय गर्न अमेरिका प्रतिबद्ध रहेको प्रतिक्रिया दिनुभयो ।

इमामलाई अमेरिकी विशेष फौजले अक्टोबर २०१७ मा लिबियामा गिरफ्तार गरी अमेरिका ल्याएको थियो । बेंगाजी आक्रमणका अर्का दोषी अहमद अबु खट्टालालाई पनि अमेरिकामा मुद्दा चलाई २२ वर्षको जेल सजायमा थुनिएको छ । 

राजदूत स्टिभेन्सको मृत्युले अमेरिकी राजनीतिमै निकै ठूलो तरङ्ग ल्याएको थियो । 

तत्कालीन अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनमाथि लिबिया मामिलामा पर्याप्त सावधानी अपनाउन नसकेको भन्दै तीव्र आलोचना भएको थियो । तर उनले आफूले कुनै गलत कार्य नगरेको दाबी गर्दै आएका छन । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया