कर्णालीमा कुष्ठरोगका नयाँ बिरामी

४ बर्ष अगाडि

कर्णाली प्रदेशमा विगतका वर्षको तुलनामा कुष्ठरोगका बिरामी घट्दो क्रममा रहेका भए पनि नयाँ बिरामी फेला पर्ने क्रम भने रोकिएको छैन ।  प्रदेशका १० जिल्लाको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा ८९ बिरामी फेला परेका छन् । 

सरकारले विसं २०६६ मा कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो । प्रति एक लाख जनसङ्ख्यामा एक जना कुष्ठरोगका बिरामी फेला पेरमा निवारण भएको अवस्था मानिने भएता पनि कर्णालीमा भने यो सङ्ख्या बढी हुन आउँछ । 

स्वास्थ्य निर्देशनालयका अनुसार कर्णालीमा आव २०७४÷७५ मा ११५, २०७३÷७४ मा ११९, २०७१÷७२ मा १०८ नयाँ कुष्ठरोगका बिरामी फेला परेका थिए । तुलनात्मकरूपमा कर्णालीका जाजरकोट, कालिकोट, सुर्खेत र सल्यान जिल्लामा नयाँ बिरामीको सङ्ख्या बढी छ । 

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आव २०७५÷७६ जाजरकोटमा १९, जुम्लामा पाँच, हुम्लामा दुई, डोल्पामा दुई, दैलेखमा नौ, कालिकोटमा सात, मुगुमा पाँच, रुकुमपश्चिममा सात, सल्यानमा ११ र सुर्खेतमा २२ कुष्ठरोगका बिरामी फेला परेका  छन् । 

स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशका कुष्ठरोग अधिकृत पदम केसीका अनुसार कुष्ठरोगको निवारणको अभियानमा अघि बढेता पनि यसको तथ्याङ्क हेर्दा सन्तोषजनक नरहेको बताएका छन । 

कुष्ठरोग सामान्य भइसकेको उल्लेख गर्दै उनले कुष्ठरोगबारे जनस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न जरुरी रहेको बताए । कर्णालीमा कुष्ठरोग निवारण गर्न निर्देशनालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उनले जानकारी दिए । 

उनका अनुसार कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोव्यक्टेरियम नामक किटाणुबाट लाग्ने गर्दछ । कम सर्ने सरुवा रोगमा पर्ने कुष्ठरोगले छाला र नशामा असर गर्ने स्वास्थ्य निर्देशनालयका निर्देशक रीता भण्डारी जोशीले बताइन । 

उनका अनुसार कुष्ठरोगको लक्षण देखिएमा छालामा असर गर्दा रातो वा हल्का फुस्रो रङको दाग देखिने, अनुहारमा छाला बाक्लो हुने, गिर्खाहरु देखापर्ने र स्नायुमा असर गर्दा हातखुट्टामा छुँदा थाहा नपाउने तथा मांशपेशी कमजोर हुने गर्दछन् । 

यसैगरी कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको आइएनएफ संस्थाले गत आर्थिक वर्षमा ५६ जनाको उपचार गरेको थियो । आइएनएफअन्तर्गत सञ्चालित साइनिङ अस्पताल सुर्खेतका प्रमुख मङ्गल थारूका अनुसार विभिन्न शिविरमार्फत पनि कुष्ठरोगका बिरामीलाई उपचारमा ल्याइने गरेको बताए । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया