तत्काल १० हजार विद्युतीय चुल्होमा अनुदान दिँदै सरकार

४ बर्ष अगाडि

काठमाडौं । सरकारले विद्युत खपत बढाउन अनुदान दिएर १० हजार विद्युतीय चुलोमा तत्काल अनुदान दिने भएको छ ।

सबै नेपालीमा आधुनिक ऊर्जाको पहुँच पुर्याउने लक्ष्य पूरा गर्न पहिलो चरणमा तराईका जिल्लामा विद्युतीय चुलो अनुदानमा दिन लागिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रअन्तर्गत ७५ हजार घरधुरीमा स्वच्छ ऊर्जाको पहुँच पुरयाई विद्युतीय चुलो प्रवर्द्धन गर्न लागिएको हो ।

पहिलो वर्ष अनुदान दिएर १० हजार विद्युतीय चुलो प्रवर्द्धन गरिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले जानकारी दिए ।

राष्ट्रिय विद्युतीय चुलो प्रवद्र्धन  अभियान थालनी भएको एक वर्ष पूरा भएको अवसरमा मन्त्री पुनले त्यस्तो धारणा सार्वजनिक गरेका हुन् । उनले थप १ लाख थान विद्युतीय चुल्हो वितरण गर्ने तयारी भएको बताए ।

सरकारले गर्नुपर्ने विद्युतीय चुलो प्रवद्र्धनको  काम गैरसरकारी संस्थाहरूले गरिरहेको भएपनि अब सरकार आफै लागेको उनको भनाइ छ ।

स्थानीय सरकारलाई पनि सहभागी गराएर विद्युतीय चुलो प्रवर्द्धन अभियान कार्यक्रम सफल पार्ने लक्ष्य राखिएको छ ।

उपभोक्तामा जनचेतनाको स्तर बढ्दै गएकाले आयातित ग्यास प्रतिस्थापन गर्न विद्युतीय चुलोको प्रयोग बढ्दै गएको छ ।

बढी विद्युत खपत गर्ने उपभोक्ताको महसुल दर कम बनाउन विद्युत महसुल समायोजन गर्ने प्रस्ताव विद्युत नियमन आयोगमा पठाइएको छ । 

आन्तरिक विद्युत खपत बढाउन उपभोक्ताको हित हुने गरी महसुल समायोजनको प्रस्ताव गरिएको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया