अब जन्मदर्ताकै आधारमा पनि शेयरका लागि आवेदन दिन सकिने

५ बर्ष अगाडि

दोलखा- माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा २० वर्ष सम्मका किशोर किशोरीले जन्मदर्ताकै आधारमा शेयर आवेदन दिन पाउने भएका छन् । 

जन्मदर्ता भएका तर विभिन्न कारणले नागरिकता बनाउन नसकेका १६ देखि २० वर्ष उमेर समूहका किशोर किशोरीले जन्मदर्ता प्रमाण पत्रकै आधारमा आमा वा बाबुलाई संरक्षक राखेर शेयर भर्न पाउने भएका हुन् । 

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रो पावरले शेयर निष्कासन गर्नु पूर्व नै दोलखावासी भएको परिचय खुल्ने प्रमाण पत्र (जन्मदर्ता, विवाह दर्ता वा नागरिकता) का आधारमा शेयर आवेदन दिन पाउने सहमति भएको थियो । तर, शेयर आवेदन संकलनका लागि तोकिएका बैङ्कहरुले १६ वर्ष उमेर पुगेकालाई नागरिकता अनिवार्य हुनुपर्ने बताएपछि त्यसमा समस्या आएको थियो । 

सोही कारण जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउनेहरुको निकै ठूलो भीड लागेको छ । प्रशासनले दैनिक चार सयदेखि पाँच सयसम्म नागरिकता वितरण गर्दै आएको पनि छ । 

माथिल्लो तामाकोशी आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जन्मदर्ता भएका र २० वर्ष उमेर ननाघेकाले जन्मदर्ता प्रमाणपत्रकै आधारमा शेयर आवेदन दिनसक्ने बताए । 

५ बर्ष अगाडि

प्रतिक्रिया