कञ्चनपुर घटना :  ‘आफन्त जोगाउन घटना मोडियो’

५ बर्ष अगाडि

कञ्चनपुर-निर्मला पन्त पढ्न गएर बेपत्ता भएको रोशन बम र बबिता बमको घरबाट अनुसन्धान गर्नुपर्छ भनेर प्रहरीलाई कसैले भनिराख्नुपर्ने विषय होइन। तर तत्कालीन प्रहरी उपरीक्षक डिल्ली बिष्टको टोली मात्र होइन केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी उपरीक्षक अंकुर जोशीको टोलीले पनि निर्मलाका आफन्त र स्थानीयको आग्रहअनुसार घरबाट अनुसन्धान गर्न चासो दिएनन्। साउन ११ गतेदेखि स्थानीयको प्रदर्शनको चुरो यही कुरामा थियो। ‘बम दिदीबहिनीलाई पक्राउ गरेर अनुसन्धान नगरेकाले प्रहरीको दोषी बचाउने शंकास्पद भूमिका देखेर हामीले आन्दोलन गरेका हौं’, स्थानीय उर्मिला शाहीले भनिन्।

एक महिना लामो आन्दोलन चर्केर एकजनाको मृत्यु र धेरै घाइते हुने अवस्था पुग्दासम्म प्रहरी उपरीक्षक बिष्ट र जोशीको टोलीले बम दिदीबहिनीको घरबाट अनुसन्धान गर्न नमान्नुको कारण के थियो? आन्दोलनको बलमा प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षक बदलिएपछि मात्र बम दिदीबहिनीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको छ। प्रहरीले अदालतबाट ६ दिन म्याद थप गरेर रोशनी र बबितामाथि अनुसन्धान सुरु गरेको छ।

‘एसपी डिल्ली बिष्टलाई घटना मोडेर डमी दोषी करार गर्न सक्छु भन्ने विश्वास थियो’, आन्दोलनमा सक्रिय विमला बिष्ट भन्छिन्, ‘जनताको आन्दोलनको शक्तिले अवस्था फेरिएको हो।’ निर्मलाको बलात्कार र हत्या योजनाबद्ध रूपमा शक्तिशाली व्यक्तिले गरेको स्थानीय बताउँछन्।‘निर्मलाको हत्या सामान्य मान्छेले गरेको होइन, ठूलै मान्छेले बलात्कारपछि हत्या गरेर उखुबारीमा फालेको हो,’ स्थानीय सन्तोषकुमार भट्ट भन्छन्, ‘शक्तिशाली हत्यारा भएकै कारण एक महिनासम्म आन्दोलन हुँदा पनि प्रहरीले दोषी पत्ता नलगाई घटना मोड्न लागेको थियो।’ शंकास्पद व्यक्तिलाई अनुसन्धान गरेर निर्दोष भएपछि रिहा मिलिहाल्ने भए पनि केरकार नै नगुर्नले शक्तिशाली बचाउन खोजेको उनी बताउँछन्। ‘शक्तिशालीलाई बचाउन निर्दोष दिलीपसिंह बिष्टलाई फसाउन खोजिएको हो’, स्थानीय रामबहादुर बिष्ट भन्छन्।

सरकारले जनताको आन्दोलनपछि पहिलेको अनुसन्धान नमानेर नयाँ शैलीबाट अनुसन्धान गर्न लगाउनुले प्रहरीले भरपर्दो अनुसन्धान नगरेर घटना मोडेको प्रमाणित भइसकेको मानवअधिकारकर्मी तथा इन्सेकका क्षेत्रीय संयोजक खडकराज जोशी बताउँछन्। ‘पीडितका आफन्त र स्थानीय बासिन्दाले जुन प्वाइन्टबाट घटना जोडियो त्यहींबाट अनुसन्धान गर्न भनेकै थिए । प्रहरीले नमान्नुको कारण शक्तिशाली मान्छेलाई जोगाउनु हो।’ प्रहरीले घटना मोड्नुको कारण प्रहरी अधिकारीको कोही आफन्त वा शक्तिशालीको प्रलोभन र दबाब हुन सक्ने उनी बताउँछन्। ‘घटनासँग जोडिएका तथ्य, प्रमाण र वातावरणले अनुसन्धानमा बल पुग्छ भनिन्छ’, उनी भन्छन्, ‘जनताको यही भावना नमानेर नाटकीय ढंगले निर्दोष मान्छेलाई दोषी साबित गर्न खोजेकाले जनता आन्दोलित भएका हुन्।’ सबैले उच्च विश्वास गरेको सिआइबी टोलीले पनि अनुसन्धानमा लापरबाही गर्नुले यो शंका उत्पन्न भएको जोशीले बताए। अाजकाे नागरिक दैनिकमा खबर छापिएकाे छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया