बार्जुकोट दरबारलाई सङ्ग्रहालय बनाइने

४ बर्ष अगाडि

जिल्लाको बूढीगङ्गा नगरपालिका–४ कोटमा अवस्थित भग्नावशेषका रुपमा रहेको बार्जुकोट दरबारलाई सङ्ग्रहालय बनाइने भएको छ । नगरपालिकाका नगर प्रमुख दीपकविक्रम शाहले नगरपालिका क्षेत्रको ऐतिहासिक तथा पुरातत्वका रुपमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई प्रवद्र्धन तथा संरक्षण गरिने बताए । 

शुक्रबार बार्जुकोट दरबारमा सुदूर साहित्य प्रतिष्ठान बाजुरा शाखाले आयोजना गरिएको गलज गुञ्जन कार्यक्रममा नगर प्रमुख शाहले दरबार क्षेत्रमा विभिन्न अलौकिक वस्तुको जगेर्ना गर्दै उक्त सङ्ग्रहालय बनाउन आवश्यक रहेको आँैल्याए । 
    
नगर क्षेत्रभित्रका दशवटै वडामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको सम्भावनालाई प्रवद्र्धन तथा प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि सङ्ग्रहालयका रुपमा स्थापना गर्न जरुरी रहेको नगर प्रमुख शाहको भनाइ छ । 

नगरपालिकाका बाजुकोट दरबार र कुँडीकोट दरबारलाई सङ्ग्रहालयका रुपमा स्थापित गर्दै ती क्षेत्रको प्रचारप्रसार गर्नुपर्ने उनको जोड थियो । पुरातात्विक सम्पदाका रुपमा दरबार रहेकाले संरक्षणको जिम्मेवारी नगरपालिकाको रहेको शाह बताउछन । 

बार्जुकोट दरबार राज्यको भन्दा पनि कुनै एक व्यक्तिका नाममा रहेकाले सो क्षेत्रमा संरचना बनाउनका लागि व्यक्तिसँग अनुमति लिएर मात्र निर्माण गर्नुपर्ने बाध्यता छ । बाइसे चौबिसे राज्य हुँदा बार्जुकोट दरबारका राजाले राज्य सञ्चालन गरेको किंवदन्ती रहेकाले सो जग्गा राज्यको नाममा नरहेको पाइएको छ । 

धार्मिक तथा पर्यटकीय क्षेत्रमा रुपमा रहेका सम्पदाको उजागर गर्न नगरपालिका तयार रहेको प्रमुख प्रशासकीय अधिकृत तिलक थापाको भनाइ छ । 

कला साहित्यको संरक्षण तथा सम्वद्र्धन गर्न नगरपालिकाले साहित्य सङ्ग्रह प्रकाशन गर्ने भएको छ । नगर क्षेत्रका साहित्यकारका रचनालाई परिस्कृत गरेर उनीहरुका गजल, मुक्तकलगायतका प्रकाशन गर्ने र सङ्ग्रहका रुपमा राखिने भएको छ । 

हरेक वर्ष हुने प्रयण दिवसका अवसरमा वा प्रत्येक महिनामा नगर क्षेत्रभित्र कथा, कविता, गजल, मुक्तकलगायतका साहित्य कार्यक्रम गरिँदै आएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया