अरुणमा जडान गरिएको फेरी बिग्रियो

४ बर्ष अगाडि

भोजपुर र सङ्खुवासभा जोड्ने अरुण नदीको सतिघाटमा सञ्चालन भएको फेरीमा सात दिन नहुँदै समस्या आएको छ । गत शनिबार सांसद सुदन किराँतीले उद्घाटन गरेको फेरीमा हप्ता दिन पुग्न नपाउँदै समस्या आएको हो ।
     
शनिबार सामानसहितको ट्र्याक्टर र १८ यात्रु लिएर भोजपुर तर्ने क्रममा फेरीको गियर बक्समा समस्या हुँदा बीचमै रोकिएको थियो । अरुण नदीको बीचमा फेरी रोकिएपछि यात्रुलाई ¥याफ्टिङ बोटद्वारा उद्धार गरिएको हो । केही दिनअघि फेरीबाट ट्रक तार्ने क्रममा सङ्खुवासभापट्टिको भागतर्फ पन्टुल लक गर्ने बिन्च उखेलिएको थियो ।

एक हप्ता नहुँदै फेरीमा समस्या भएको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् । उद्योग वाणिज्य सङ्घ दिङ्ला शाखाका अध्यक्ष रमेश श्रेष्ठले भन्नुभयो, “दिङ्ला मुलुककै ऐतिहासिक ठाउँ हो, तर अरुण नदीमा पुल नुहँदा धेरै समस्या भोग्दै आइयो, फेरी सञ्चालनमा आउँदा केही राहत भएको थियो, तर साता दिन नहुँदै बिग्रिनु भनेको दुर्भाग्य हो, यसमा सरोकारवाला पक्ष गम्भीर बन्न आवश्यक छ ।”

स्थानीयवासीले भने नगरपालिकाकाले फेरी सञ्चालनका लागि दक्ष कर्मचारी नराख्दा समस्या आएको आरोप लगाएका छन् । ठूलो लगानीमा बनेको फेरी साता दिन नपुग्दै बिग्रनु ठेकेदारले काममा लापरवाही गरेको स्थानीयवासीको भनाइ छ ।  फेरीमा समस्या आएपछि भोजपुरको दिङ्ला, कुदाकाउले झ्याउँपोखरीलगायत विभिन्न ठाउँमा सामान लिएर आएका धुवानीका साधन अलपत्र परेका छन् । ट्र्याक्टर चालक कमल श्रष्ठले भने, “सामान लिएर आइयो फेरी बिग्रिएपछि गन्तव्यमा पुग्न समस्या भयो, अझै कति दिन बस्नुपर्ने हो ।”

प्राविधिकको भनाइअनुसार अहिले भएको समस्यालाई समाधान गरेर आगामी फागुन ११ गतेदेखि पुनः फेरी सञ्चालन गर्ने तयारी भइरहेको ठेकेदार कम्पनीका प्रतिनिधि सुरेश कार्कीले बताउनुभयो । फेरी सङ्घीय सांसद क्षेत्र विकास कोषबाट रु ७५ लाख, प्रदेश सांसद क्षेत्र विकास कोषबाट रु ७५ लाख र षडानन्द नगरपालिकाको रु ५५ लाखको लागतमा निर्माण गरिएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया