तरकारी खेतीमा आत्मनिर्भर बन्दै रामपुरका महिला

४ बर्ष अगाडि

यस क्षेत्रका महिलाहरु हिजोआज आफै व्यवसाय गरेर आत्मनिर्भर बन्न थालेका छन् । मौसमी तथा बेमौसमी जातका तरकारी व्यवसाय गरी आफ्नो जीविका चलाउने कार्यमा रामपुरका महिलाहरु अग्रसर छन् ।

रामपुर नगरपालिका–७ मलेङ बस्ने गीता भट्टराईले तरकारी लगाएर राम्रो आम्दानी गर्छिन् । करिब एक दशकदेखि तरकारी व्यवसायमा आबद्ध भट्टराईले पाँचदेखि सात रोपनी क्षेत्रफलमा तरकारी लगाउने गर्छिन् । उनले वर्षमा न्यूनतम रु तीन लाखभन्दा बढी आम्दानी लिन सफल भएकी छिन् ।

“तरकारी लगाउन शुरु गरेपछि अरूको भर पर्नु परेको छैन, आफ्नो खुट्टामा आफैँ उभिन सक्ने भएको छु, तरकारी लगाउने विभिन्न प्रविधि जानकारी भएपछि अहिले उत्पादन पनि राम्रै हुन्छ” उनले भनीन्। उनलाई तरकारी खेती शुरु नगर्दासम्म अरूको भरमा बाँच्नु परेको थियो । अहिले आफैँले तरकारी लगाएर कमाउन थालेपछि परिवारमा सुखका दिन आएको भट्टराईले अनुभव सुनाइन् ।

बहखोला बस्ने मथुरा ढकालले तरकारी लगाएर आफ्नो जीविका चलाउँदै आएकी छिन् । कम्तीमा पनि बा¥है महिना तीन रोपनी जग्गामा तरकारी लगाएर छोराछोरीको पढाई खर्च, घरखर्च चलाउने गरेको उनले बताइन् । तरकारीबाट उनको परिवारको गुजारा राम्रोसँग चलेको छ । विभिन्न जातका तरकारी लगाउँदै आउनुभएको छ । तरकारी बिक्रीबाट मासिक रु ३० हजारसम्म कमाई हुने गरेको ढकालले बताइन् ।

तरकारी नलगाउँदासम्म जीवनमा धेरै दुःख गरेकी ढकालले छ वर्ष यता तरकारीखेती निरन्तर गर्न थालेपछि अर्काको भर पर्नु नपरेको उनको भनाइ छ । सोही ठाउँकै विष्णुमाया पोखरेललाई तरकारी लगाउन थालेपछि श्रीमान्को भरमा पर्नुपर्ने अवस्था छैन । तरकारी लगाएर दिनहुँ हातमा पैसा आउन थालेपछि व्यवसायमा हौसला बढेको पोखरेल बताइन्।

“आफ्नो खर्च चलाउन कस्ले दुई चार पैसा देला भनेर बस्नु जतिको दुःख जीवनमा केही रहेनछ, अहिले तरकारी लगाउन थालेपछि दिनहुँ हातमा दाम परिरहन्छ, आफ्नो खर्च सजिलोसँग चलाउन पाइएको छ” पोखरेलले भनीन्  ।

रामपुर नगरपालिका–५ राङभाङ बस्ने ज्ञानुमाया कार्की दुई दशक यता तरकारीखेतीमा आबद्ध छिन्। करिब पाँच रोपनी जग्गामा उनको खेतमा हरियाली बा¥है महिना तरकारी हुन्छ । तरकारी खेतीमा कार्कीले रामपुरमा राम्रो पहिचान बनाएकी छिन् । “तरकारी लगाएरै दुई दशक बितेको पत्तो भएन, दिनदिनै तरकारी बेच्यो हातमा पैसा आइहाल्यो, यसरी नै आम्दानी लिन थालेको लामो समय भयो, तरकारीबाट नसोचेको आम्दानी भइरहेको छ”, कार्कीले भनीन् ।

तरकारीबाट वर्षमा तीन लाखदेखि पाँच लाखसम्म कमाई गर्छिन् । अहिले उनको व्यवसायबाट गाउँका अन्य महिलाहरुले पनि सिको गर्न थालेका छन् । घरायसी कामधन्दासँगै घरमै बसेर पनि दुई चार पैसा आम्दानी गर्न सकिन्छ । केही न केही गरियो भने दुई चार पैसा आम्दानी लिन सकिन्छ भन्ने एउटा गतिलो उदाहरण बनेका छन् रामपुरका महिलाहरु । यहाँका महिलाहरुको व्यवसायको अवलम्बन गर्न सकेमा महिला परनिर्भरता कम हुदै जानेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया