बाग्मती प्रदेशका ५१ प्रतिशत महिला बैदेशिक रोजगारीमा, काठमाडौं चौंथो

४ बर्ष अगाडि

सायदै धेरैको अनुमान होला काठमाडौका महिला काम खोज्न विदेश जान्छन् । तर तथ्यांकले भन्छ – रोजगारीको लागि विदेश जानेमा काठमाडौं र आसपासका जिल्लाका महिला धेरै छन् । 

वैदेशिक रोजगार विभागका अनुसार बाग्मती प्रदेशका ६ वटा जिल्लाबाट मात्रै बाट ५१ प्रतिशत महिला रोजगारीको खोजीमा बाहिरी मुलुक जाने गरेका छन् । 

अहिलेसम्म १ लाख ३२ हजार ९९५ जना महिला संस्थागत रुपमा श्रमस्वीकृति लिएर रोजगागरीका लागि विदेश गएका छन् । त्यसमध्ये बाग्मती प्रदेशबाट ६७ हजार ९ सय ६८ जना महिला छन् । बाग्मतीका धेरै महिला विदेश जाने जिल्लाहरुमा क्रमशः सिन्धुपाल्चोक, काठमाडौं, मकवानपुर, काभ्रे, नुवाकोट र चितवन छन् । विभागका अनुसार सिन्धुपाल्चोकबाट १८ हजार ५ सय, काठमाडौंबाट १२ हजार ४ सय १९, मकवानपुरबाट ११ हजार ३ सय ७४, काभ्रेपलाञ्चोकबाट ९ हजार ६ सय ३०, नुवाकोटबाट ८ हजार ३ सय १ र चितवनबाट ७ हजार ७ सय ४४ जना महिला कामको लागि विदेश गएका छन् । 

धेरै महिला विदेश जाने जिल्लामध्ये दोश्रोमा १ नम्बर प्रदेश छ । १ नम्बर प्रदेशबाट २२ दशमलव ७९ प्रतिशत महिला रोजगारीका लागि विदेश गएका छन् । ति सबै झापा र ईलामबाट मात्रै हुन् । 

विभागका अनुसार तेश्रोमा दुई नम्बर प्रदेश छ । जहाँको मोरङ्ग र सुनसरीबाट मात्रै १८ दशमलव ३७ प्रतिशत महिला कामका लागि विदेशीएका छन् । 

९२ प्रतिशत १० जिल्लाबाट : झापा पहिलो, काठमाडौं चौंथो 
रोजागारी खोज्दै विदेश जानेमध्ये झापाका सबैभन्दा धेरै २३ हजार ५६ जना महिला छन् । यो अहिलेसम्म विदेशीने महिलाको १७ दशमलव ३४ प्रतिशत अंश हो । जिल्लागत हिसावले दोश्रोमा सिन्धुपाल्चोकबाट १३.९१ प्रतिशत छन् । 

कामको लागि विदेश जाने महिलामध्ये झण्डै एकतिहाई हिस्सा झापा र सिन्धुपाल्चोक २ जिल्लाले ओगटेका छन् । झापा र सिन्धुपाल्चोकबाट मात्र ३१.२५ प्रतिशत अर्थात ४१ हजार ५ सय ५६ जना महिला विदेश गएका छन् । 

तेश्रोमा मोरङ्गबाट ११.३७ प्रतिशत छन्। देशको राजधानी काठमाडौं चौंथो नम्बरमा पर्छ । जहाँका ९.३४ प्रतिशत महिला रोजगारीका लागि विदेशीएका छन् । 

त्यसबाहेक मकवानपुरबाट ८.५५, काभ्रेपलाञ्चोकबाट ७.१४, सुनसरीबाट ७, नुवाकोटबाट ६.२४, चितवनबाट ५.८२ र इलामबाट ५.४२ प्रतिशत महिला रोजगारीको लागि विदेशीएका छन् । 

७७ जिल्लामध्ये यी १० जिल्लाबाट मात्रै ९२ प्रतिशत महिला रोजगारीका लागि विदेशीएका छन्। अन्य ६७ जिल्लाबाट जम्मा ७ दशमलव ७४ प्रतिशत महिला विदेश गएको विभागको तथ्यांक छ । 

विदेश जानेमध्ये अदक्ष ५८ प्रतिशत
विभागको तथ्यांक अनुसार अहिलेसम्म विदेश गएका महिलामध्ये ५७ हजार २ सय ५७ जना महिला कुनै सीपविना नै कामगर्न भन्दै विदेश गएका छन् । यो कूल बैदेशिक रोजगारीमा गएका महिलामध्ये ५८ दशमलव ८४ प्रतिशत हो । 

सरकारले ११० देशमा काम गर्न संस्थागत रुपमा श्रम स्वीकृति दिने गरेको छ भने व्यक्तिगत श्रम स्वीकृति लिएर १७२ देशमा नेपालीहरु जान्छन् । ती देशमा जानेमध्ये २५.८१ प्रतिशत दक्ष र १४.९८ प्रतिशत अर्धदक्ष महिला विदेश गएका छन् ।  

कुनै पेशा गरिरहेका पेशाविद् जम्मा ०.३० प्रतिशत महिला विदेश गएका छन् भने कुनै सीपले दक्ष भएका उच्च दक्षतायुक्त महिला जम्मा ०.०६ प्रतिशत मात्रै छन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया