तीन महिनामा बन्यो ८० किलो  १० फिट अग्लो खुकुरी

४ बर्ष अगाडि

पर्वत जलजला गाउँपालिका–२ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले ८० किलोको खुकुरी निर्माण गरेका हुन । तीन महिनाको अवधिमा उनको नेतृत्वमा चार जनाको टोलीले हालसम्मकै सबैभन्दा ठूला सो खुकुरी तयार गरेको हो । 

असी किलोको कुखुरीको अग्लाइ साढे १० फिटको रहेको छ । गत  मङ्सिर ४ गतेदेखि खुकुुरी बनाउन शुरु गरी माघ २९ गते सम्पन्न भएको उनले जानकारी दिए । 

सुनारसँगै अर्जुन विक, सन्तोष विक र हरिलाल विकको समूहले तीन महिनाको अवधिमा निर्माण भएको खुकुरी अहिले पर्वत बेनीमा जारी १३औँ गण्डकी प्रदेशस्तरीय महिला महोत्सवमा पदर्शनीमा राखिएको छ ।

उनले माझफाँटमा डिलु आरान उद्योग सञ्चालन गर्दै आएका छन । खुकुरीलाई चासो र जिज्ञासाको साथ अवलोकन गरी फर्कने गरेको रेडियोका दिदी बहिनीका अध्यक्ष कल्पना चापागाईंले जानकारी दिए । 
 
महोत्सवको मञ्चको छेउमा कुखुरीलाई ठाडो पारेर सबैले देख्न सक्ने गरी राखिएको छ । खुकुरीमा फलामसँगै बिँडमा सालको काठ र काँजोमा चाँदी र पितलको प्रयोग गरिएको छ । 

“तीन वर्षदेखि ठूलो खुकुरी बनाउने योजना बनाएको थिएँ, फलामको साइज नेपालमा नभेटिएपछि भारतबाट मगाएको हुँ, नेपालको राष्ट्रिय हतियारको रूपमा विश्वभर रहेका नेपालीको पहिचान र नेपालको चिनारीका लागि खुकुरीमार्फत प्रयास गरेको हुँ”, निर्माणकर्ता सुनारले भने ।
 
उनका अनुसार खुकुरी निर्माणमा रु दुई लाख खर्च भएको छ । सामान खरिद र चार जनालाई तीन महिनाको पारिश्रमिक खर्चसमेत आफैँले जुटाएर खुकुरी बनाएका सुनारले आफ्नो लगानी उठ्ने गरी सङ्ग्राहलयमा राख्नका लागि सो खुकुरीलाई बिक्री गर्ने योजना बनाएको जानकारी दिए । 

पुख्र्यौलीरूपमा आफ्ना अभिभावकले गर्दै आएको आरान पेशालाई आधुनिकीकरण गरेका सुनारले आकर्षक तरबार, खुकुरी, दाउ, आँसीलगायतका हतियारसँगै फलामका भाँडासमेत बनाउँदै आएका छन । 

उनले महोत्सव परिसरमा आफ्नो उद्योगमा निर्माण गरिएका हातहतियार र औजार सामग्रीलाई समेत बिक्री वितरणका लागि प्रदर्शनीमा राखेका छन । 

४ बर्ष अगाडि

प्रतिक्रिया