महायज्ञमा जुटेको सहयोगबाट अमर क्याम्पस बन्दै

४ बर्ष अगाडि

धन धान्याञ्चल महायज्ञमार्फत सङ्कलन भएको रकमले बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँकोटस्थित अमर क्याम्पसको सुविधा सम्पन्न भवन निर्माण शुरु गरिएको छ । 

प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यका साथ विहुँकोट राममन्दिर नजिकै १३ कोठे सुविधा सम्पन्न भवन निर्माण कार्य शुरु भएको अमर क्याम्पस बिहुँले जनाएको छ । उच्च शिक्षा अध्ययनका लागि जिल्ला सदरमुकाम, काठमाडौँ र पोखरा धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यका साथ स्थानीयवासीको सक्रियतामा महायज्ञ सञ्चालन गरी सङ्कलित रु तीन करोड रकमबाट अहिले दुई वटा सभाहल र १३ वटा कोठासहितको भवन निर्माण गर्न थालिएको अमर क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष गौरी शङ्कर शर्माले बताए। 

त्रिभुवन विश्व विद्यालयबाट २०६७ मा सम्बन्धन प्राप्त यस अमर क्याम्पसमा हाल व्यवस्थापन सङ्कायको स्नातक तह अध्यापन गरिँदै आएको भए पनि भौतिक संरचनाको अभावमा समस्या झेल्दै आएपछि सुविधा सम्पन्न भवन निर्माण थालिएको छ । अमर क्याम्पसमा हाल ६० जना विद्यार्थी अध्ययनरत छन् । यसमध्ये भवन नभएपछि २६ जना विद्यार्थीलाई अस्थायी भवनमा राखेर पढाइँदै आइएको छ । भवन निर्माणका लागि २०७३ सालमा १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजको नेतृत्वमा महायज्ञ सञ्चालन गरिएको काठेखोला गाउँपालिका–५ का वडाध्यक्ष शिव कँडेलले जानकारी दिए । 

क्यापसको पहिलो तला चैत मसान्तसम्म सम्पन्न गर्ने गरी निर्माण कार्यलाई अगाडि बढाइएको छ । अर्को वर्षदेखि तला थप्दै जाने क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष शर्माले बताए। भवन अभावका कारण साँघुरो ठाउँमा पढाउनुपर्ने बाध्यता रहेकाले स्थानीयवासीको पहल र अगुवाईमा सुविधा सम्पन्न भवन निर्माण थालिएको क्याम्पस प्रमुख केशव कँडेलले बताए। 

पढाउँदा असहज हुनुका साथै पुस्तकालय, ल्याब बनाउने स्थानसमेत नरहेकाले विद्यार्थीलाई गुणस्तरीय एवं प्रविधिमैत्री शिक्षा प्रदान गर्न चुनौती देखिएको क्याम्पस प्रमुख कँडेलको भनाइ रहेको छ ।  क्याम्पसमा बिहुँसँगै लेखानी, तङ्ग्राम, ताराखोला, दमेकलगायतका ठाउँबाट अध्ययन गर्न आउने गरेको विद्यालयका संस्थापक नवीन कँडेलले बताए । विद्यार्थीहरुलाई थप आकर्षित गर्नका लागि क्याम्पसले आवासीय सुविधा प्रदान गरेको छ भने प्राविधिक शिक्षा सञ्चालन गर्ने लक्ष्य राखेको छ । 

टाढाबाट अध्ययन गर्न आउने विद्यार्थीलाई मध्यनजर गर्दै आवासीय सुविधाको समेत व्यवस्था गरेको क्याम्पसले जनाएको छ । २० प्रतिशत विद्यार्थी मात्रै अहिले आवासीय रुपमा बसेर अध्ययन गर्दै आएका छन् । भवन निर्माण भएपछि गरिब तथा विपन्न परिवारका विद्यार्थीहरुलाई अध्ययन गर्न बाहिरी जिल्ला धाउनुपर्ने बाध्यताको अन्त्य हुने क्याम्पसले जनाएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया