झोलुङ्गे पुलबाट ७३२ घरधुरी लाभान्वित

४ बर्ष अगाडि

म्याग्दीको मङ्गला गाउँपालिका–४ धापुङ जुगेपानीस्थित न्यूखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । उन्साठ्ठी दशमलव ७५ मिटर लामो पुलबाट गाउँपालिकाको ३ र ४ नं वडाका ७४३ घरधुरीका तीन हजार ७१८ जनसङ्ख्या लाभान्वित भएको वडाध्यक्ष ओमबहादुर रोकाले जानकारी दिए।
 
झोलुङ्गे पुल क्षेत्रगत सहयोग कार्यक्रम ९टिबीएसयु०को प्राविधिक सहयोगमा गाउँपालिकाले उपभोक्ता समितिमार्फत पुल निर्माण गरेको हो । कूल रु ३३ लाख ५९ हजार ६०९ लागतमा पुल निर्माण भएको उपभोक्ता समितिले जनाएको छ । गाउँपालिकाले रु दुई लाख एक हजार ९६ अनुदान र उपभोक्ताको रु ६७ हजार ३२ बराबरको श्रमदान रहेको पुल निर्माणमा टिबीएसयुले थप रकम र निर्माण सामग्री उपलब्ध गराएको थियो ।
 
लठ्ठा र बुलडग ग्रिप्समा रु दुई लाख २५ हजार ८२८, स्थानीय निर्माण सामग्री र मजदुरको ज्यालामा रु १६ लाख १५ हजार ८२०, ग्याबिन तार, फलामे सामग्री, छड, सिमेन्ट, स्टिल पार्टस्, स्टिल डेग र सामान ढुवानीमा रु १० लाख ५६६, गैरसरकारी संस्थाको सेवा शूल्कमा रु दुई लाख तीन हजार ७६ र कामदारको दुर्घटना बीमामा रु ३८ हजार १८८ खर्च भएको छ । 

यही २०७६ जेठ १९ गते गाउँपालिका र उपभोक्ता समितिबीच पुल निर्माणका लागि सम्झौता भएको थियो । विसं २०७७ असार ३० गतेसम्म पुल निर्माण सक्ने सम्झौतामा उल्लेख थियो । उपभोक्ता समितिको सक्रियताले लक्ष्यभन्दा पाँच महिनाअघि नै पुल निर्माण भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताए। 

पुल बनेपछि विशेषगरी बर्खायाममा जोखिम मोलेर खोला तर्नुपर्ने समस्या हटेको र सुरक्षित यात्रा गर्न पाएको स्थानीयवासी दलबहादुर पुनले बताए। धापुङ, महेशगाउँ, खर्क, दहलगायत बस्तीका बासिन्दालाई सुविधा पुगेको छ । पुल निर्माणका लागि गैरसरकारी संस्था मिलन म्याग्दीले सामाजिक तथा प्राविधिक सहयोग उपलब्ध गराएको थियो । न्यूखोलासँगै गाउँपालिका–२ को काफलचौर र कोत्रवाङको सिमानामा पर्ने भाइवाङखोलामा १०४ मिटर लामो अर्को झोलुङ्गे पुल निर्माण भएको छ । 

रु ४७ लाख ८८ हजार ४६० लागतमा निर्माण भएको झोलुङ्गे पुलबाट कोक्रवाङ, भाइवाङ, ¥यालेखोर, कुहुँ, भरजुला, भाइवाङका १४३ घरधुरीका ८५८ जनसङ्ख्या लाभान्वित भएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए।
 

४ बर्ष अगाडि

प्रतिक्रिया