पर्यटकको आकर्षक बन्दै ‘अनैकोट भ्यू टावर’

४ बर्ष अगाडि

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–१ स्थित दृश्यावलोकन स्तम्भ ‘अनैकोट भ्यू टावर’ पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । 

भ्यू टावरबाट वरपरका सुन्दर दृश्य अवलोकन गर्न सकिने साथै बिहानी सूर्योदय पनि हेर्न मिल्ने भएकाले पर्यटन विकासको उच्च सम्भावना बोकेको यो क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइको गन्तव्य बन्न थालेको छ । सो टावरबाट यहाँको भौगोलिक र प्राकृतिक सुन्दरताको दृश्यावलोकन गर्नका लागि राजधानीलगायत मुलुकका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक आउने गरेका छन् ।

भौगोलिक हिसाबले अग्लो, रमणीय, हरियाली वनजङ्गलको छेउमा शान्त वातावरणमा रहेको सो भ्यू टावरबाट हिमालयन रेञ्जका दृश्य अवलोकन गर्न सकिने छ । गौरीशङ्कर हिमाल, जुगत हिमाल, गणेश हिमाललगायत काभ्रेको शिखरसम्मका डाँडाकाँडा, धुलिखेल, नगरकोटलगायत अन्य ठाउँको पनि एकै स्थानबाट अवलोकन गर्न सकिने भएकाले यसलाई पर्यटनका लागि प्रमुख आकर्षक केन्द्रका रुपमा लिन सकिन्छ । त्यस्तै बनेपाको विभिन्न स्थानलगायत पाँचखाल, धुलिखेल, मण्डनदेउपुर, कोशीपारिका विभिन्न स्थान, तेमाल डाँडाका साथै सिन्धुपाल्चोकका विभिन्न भेग र बस्ती सजिलै नियाँल्न सकिने भएकाले पनि उक्त ठाउँ सबैको रोजाइको केन्द्र बन्न थालेको हो । 

शान्ति मन्त्रालयको करीब ४२ लाखको लागतमा पाँचतले दुश्यावलोकन स्तम्भ निर्माण गरेपछि पर्यटकको आकर्षण बढेको स्थानीयवासी बताउँछन् । स्थानीयवासी सुनिलकुमार बजगार्इंले टावर निर्माण गरिसकेपछि काठमाडौँ, ललितपुर र भक्तपुर लगायतका टाढाटाढाबाट समेत मान्छेहरु गाडी लिएर आउने, वनभोज खाने र रमाइलो गरी जानेको सङ्ख्या बढ्दै गएको बताए । त्यो बाहेक जिल्लाभित्र धेरै ठाउँका मानिस र विद्यालयका विद्यार्थीको समेत आगमन बढ्न थालेको उहाँको भनाइ छ । त्यसरी पर्यटकको आगमन बढ्दै गएको ठाउँको सरसफाइमा भने स्थानीय सरकारले ध्यान नदिएको उनको गुनासो छ । “नगरपालिकाका तर्फबाट तारबारका लागि केही व्यवस्था त ग¥यो तर त्यसलाई समेत व्यवस्थित गर्न सकेको छैन”, उनले भने।

अर्का स्थानीयवासी कुलशेखर ढुङ्गेलले वनभोजका लागि आउनेले फालेको बियरका बोतल र सिसाको टुक्रा यत्रतत्र रहेका कारण त्यसको व्यवस्थापन स्थानीय सरकारले गर्नुपर्नेमा जोड दिए । “कहिलेकाहीँ आउँदा बियरको बोतल, प्लास्टिक लगायतका फोहर छरिएर रहेको पाइन्छ, त्यसको व्यवस्थापन गर्न स्थानीय सरकारले चासो दिएको पाइएको छैन”, उनले भने। वडाध्यक्ष अष्ट लामाले पर्यटकीय क्षेत्रलाई व्यवस्थित गर्नका लागि गुरुयोजना बनाएर नै अगाडि बढ्न सकेमा यो क्षेत्र पाँचखाल नगरकै आम्दानीको मुख्य स्रोत बन्न सक्ने उल्लेख गर्दै यसका लागि आवश्यक गृहकार्य भइरहेको बताए । 

स्थानीयवासी मित्रलाल तामाङले पर्यटकको सङ्ख्या बढे पनि स्थानीयवासीको आयस्तरमा भने कुनै परिवर्तन नभएको बताए । आन्तरिक पर्यटकको आगमन बढे पनि व्यापार–व्यवसायमा कुनै वृद्धि नभएको उनको भनाइ छ । रत्नबहादुर तामाङले बिदाको बेलामा घुम्न आउने पर्यटकको सङख्या धेरै बढ्ने गरेको उनले बताए । सो क्षेत्रको व्यवस्थापन गर्न सम्बन्धित निकायले ध्यान नदिँदा दिनप्रतिदिन फोहर बढ्दै गएको उनको भनाइ छ । व्यवस्थित गर्ने भन्ने सोच बनाएको भनिए पनि त्यसलाई कार्यान्वयन गर्न नसकेको पाइएको उनले बताए ।

“यस क्षेत्रको व्यवस्थित विकासका लागि नगरपालिकाले योजना बनाइरहेको छ”, वडाध्यक्ष तामाङले भन्नुभयो, “भ्यू टावरसहित पर्यटकका लागि आवश्यक पर्ने अन्य पूर्वाधारको निर्माणका लागि गुरुयोजना बनाएर काम गर्ने गृहकार्य भइरहेको छ ।”

यो भ्यू टावरको पछाडिको जङ्गलमा वसन्त ऋतुको आगमनसँगै वन ढाकिने गरी फुलेका लालीगुँरासले जो कोहीको पनि मन लोभ्याउने छ । यसैगरी गर्मी मौसममा उक्त ठाउँमा शीतल हावा, हरियाली मौसम, स्वच्छ वातावरण चल्ने हुँदा गर्मी छल्नका लागि पनि यो ठाउँ अत्यन्तै उपयोगी हुने स्थानीयवासीको भनाइ छ । 

यी विशेषता भएका भ्यू टावर समयमा सबैले घुम्नै पर्ने गन्तव्य सावित हुँदै गएका छन् । भ्यू टावरका साथसाथै वनभोजस्थल पनि भएकाले घुम्न र बाहिरी वातावरणमा नौलो दृश्य हेर्नका लागि पनि यो ठाउँ उपयोगी सावित हुँदै आएको स्थानीयवासीले बताएका छन् । 

वाग्मती प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले भ्यू टावर निर्माणसँगै त्यसका लागि आवश्यक पर्ने पूर्वाधारको विषयमा आफ्नोतर्फबाट खानेपानी, बगैँचा, विश्रामस्थल, बाटो, फोहर फाल्ने निश्चित ठाउँको व्यवस्था र वनभोजका लागि आवश्यक पर्ने ठाउँका लागि बजेटको व्यवस्थापन भइरहेको बताए । यही आर्थिक वर्षमा भ्यू टावरलाई प्रदेश सरकरका तर्फबाट २० लाख रकम विनियोजन भएको छ । उनले भने, “यसका लागि मात्रै नभई यहाँको पर्यटकीय क्षेत्रको विकासका लागि गुरुयोजना बनाएर शौचालय, कार्यक्रम गर्ने स्थल बगैँचालगायत निर्माण गर्नुपर्ने भौतिक संरचनाको हकमा योजना बनाइरहेका छौँ ।”

अनैकोट आसपासका स्थानीय बासिन्दाले पर्यटकीयस्थलका रुपमा उपयोग गरेर आर्थिक उपार्जनका लागि माध्यम बनाउन सक्ने सम्भावना भएकाले आवश्यक पूर्वाधार निर्माण गर्न बजेट व्यवस्थापनका लागि आफूले पहल गरिरहेको उनले बताए । उनले स्थानीयवासी र पर्यटकलाई पनि सुुविधामूलक ढङ्गले व्यवस्थित गर्ने योजनामा आफू रहेको बताए। “कामको प्रारम्भ भइसकेको छ”, उनले भने, “स्थानीयवासीको सुविधाका लागिसमेत भनेर तिरतिरे धारो, घुमाउनेचौर हुँदै कोट्याङ जाने बाटोलाई यसै आर्थिक वर्षमा रु दुई करोड र एकीकृत खानेपानीका लागि पनि रु दुई करोड विनियोजन भइसकेको छ ।”    
    
यो भ्यू टावर पुग्न काभ्रेको सदरमुकाम धुलिखेलबाट मोटरबाटो प्रयोग गरी एक घन्टामा सजिलै पुग्न सकिन्छ । यस भ्यू टावरमा पुग्न यातायातको अत्यन्तै सुविधा रहेको छ । यी विशेषता भएको अनैकोट भ्यू टावरमा जसरी पनि एकपटक पुग्नुपर्ने ठाउँका रुपमा विकास हुँदै गइरहेको छ । 
    

४ बर्ष अगाडि

प्रतिक्रिया