स्वर्गद्वारी  विमानस्थल बन्ने निश्चित

४ बर्ष अगाडि

लामो समयदेखि चर्चामा रहेपनि राजनीतिक खिचातानीले रोकिएको स्वर्गद्वारी विमानस्थल  निर्माणको वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन स्वीकृत भएको छ । 

सोमबार वन तथा वातावरण मन्त्रालयमा मूल्याङ्कन प्रतिवेदन स्वीकृत भएको हो । 

विसं २०७१ सालबाट प्रक्रिया अगाडि बढेको विमानस्थलको लागि सरकारले गत जेठ १५ गते प्रस्तु गरेको बजेटमा प्रकृया अगाडि बढाउने घोषणा गरेको थियो । 

स्वर्गद्वारी नगरपालिका–८ बर्जिवाङमा पर्ने चाल्नेटारमा विमानस्थल बनाउनका लागि नेपाल नागरिक उडड्यन प्राधिकरणको तर्फबाट परामर्शदाता संस्था प्याक्ट कन्सल्ट्यान्ट प्रालिले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारेको थियो । 

विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार भइरहेको छ । गत माघ १३ र १४ गते उक्त स्थानको सर्भे गरिएको कन्सल्ट्याण्ट कम्पनीका उत्सव गौतमले जानकारी दिए ।  केही महिनामा डिपिआर रिर्पोट तयार गरी निर्माणको काम शुरु हुने जनाइएको छ । 
  
जिल्लाको मुख्य धार्मिकस्थल स्वर्गद्वारीलाई केन्द्रबिन्दु बनाई निर्माण हुने विमानस्थलबाट प्युठानका साथै छिमेकी जिल्ला रोल्पाका जनतालाई हवाइ यातायातको पहुँच पुग्ने स्वर्गद्वारी नगरपालिकाका नगरप्रमुख नेत्रबहादुर रोकायले जानकारी दिए । डीपीआर प्रतिवेदन तयार भएपछि मात्र बजेट तोकिने छ । 

विमानस्थल निर्माणपछि स्वर्गद्वारीमा स्वदेशी तथा विदेशी पर्यटक सहजरुपमा आउने उनले बताए । 

चार वर्ष अघि गरिएको फिल्ड सर्भे अनुसार आयोजनाको प्रस्तावित लागत रु ७७ करोड रहेको छ । 

६० दशमलव ७९ हेक्टर क्षेत्रफलमा विमानस्थल निर्माण गर्नका लागि ५५ दशमलव १८ हेक्टर राष्ट्रिय वनअन्तर्गतको हरियाली सामुदायिक वनको जग्गा अधिग्रहण गर्नुपर्ने छ ।  
त्यस्तै १८ घर पूर्णरुपमा विस्थापित हुने बताइएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया