सुर्खेतको रेक्चामा बिजुली बल्यो

५ बर्ष अगाडि


सुर्खेत । चौकुने गाउँपालिकाको वडा नम्बर ५ स्थित रेक्चाका गोपाल सिंह बिसी लगायत केही अगुवाले गाउँमा बिजुली निकाल्ने पहल गर्दा धेरैले पत्याएका थिएनन् ।

केहीले त यतिसम्म भने कि, ‘पानीबाट पनि बत्ती बल्छ ! यस्ता बुद्धी नभएकाहरुको पछि लागेर हुँदैन ।’

गोपाल सिंह बिसी, रमेश बिसी लगायत जलविद्युत आयोजना समितिका अगुवाहरुले यस्ता धेरै आलोचना झेलेर पनि करिब ७ वर्षपछि गत भदौ १७ गते गाउँ उज्यालो बनाउने सपना साकार बनाए ।

रेक्चास्थित बेतखोलीबाट उनीहरुले बिजुली उत्पादन गरेपछि गाउँ नै झलमल भएको छ । करिब ८४ लाख लगानीमा २२ किलो वाट बिजुली उत्पादन भएको हो । 
७ वर्षअघि सुरु भए पनि केही वर्षयता अलपत्र बनेको बेतखोली लघु जलविद्युत आयोजना चौकुने गाउँपालिकाको विशेष पहल र आर्थिक सहायतामा सम्पन्न भएको हो ।

२०६८ सालमा आयोजना सुरु भए पनि ठेकेदार कम्पनीले काम बिचैमा छोडिदिएपछि काम अलपत्र बनेको थियो । यसबाहेक गाउँपालिकाकै अन्य वडाका जनप्रतिनिधिहरु समेत यस योजनामा सहमत नभएको स्थानीय बताउँछन् ।

आइतबार चौकुने गाउँपालिकाका अध्यक्ष धीर बहादुर शाहीले बिजुली उद्घाटन गर्दै स्थानीय सरकार गठनपछि स्थानीय सरकारको पहलमा कर्णालीकै पहिलो लघु जलविद्युत आयोजना भएको बताए ।

शाहीका अनुसार रेक्चामा ठेकेदार कम्पनीले अलपत्र पारेर छोडेको लघु जलविद्युत आयोजनालाई गाउँपालिकाको निरन्तर प्रयासमा काम सम्पन्न गराइएको हो । गाउँपालिकाको उज्यालो चौकुने अभियान अन्तरगत रेक्चामा अलपत्र रहेको बिजुली उत्पादनको काम सम्भव भएको बताइएको छ । उक्त अभियान अन्तरगत गाउँपालिकाले ३० लाखको हाराहारीमा रकम अनुदान दिएको छ ।

उक्त आयोजनामा गाउँपालिका र स्थानीय साथै वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको पनि लगानी छ । आयोजनाबाट करिब १ सय ५० घर परिवार लाभान्वित भएका छन् । आइतबार स्थानीय विद्यालयको प्रांगणमा बिजुली उद्घाटन गर्दै स्थानीयहरु खुसीले उफ्रिएका थिए ।

‘यति दुर्गम गाउँमा पनि बिजुली कसरी बल्ला र पत्यार नै लागेको थिएन,’ स्थानीय सुशीला रानाले भनिन्, ‘अब हामी पनि उज्यालोमा बस्न पाइने भयो । यसैमा खुसी लागेको छ ।’

रेक्चा गाउँमै जन्मेर हुर्केकाहरु मन्त्री तथा उच्च पदस्थ कर्मचारी बनिसक्दा समेत गाउँमा बिजुली, बाटो, खानेपानीको लागि पहल नगरिदिँदा स्थानीयहरु रुष्ट बन्दै आएका थिए । अन्ततः चौकुने गाउँपालिकाले पश्चिम सुर्खेतको दुर्गम गाउँ रेक्चामा बिजुलीमार्फत खानेपानी ल्याउने तयारी गरिरहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया