लकडाउनमा हाम्राे व्यवहार र चिनियाँ अधिकृतले दिएको सुझाव

४ बर्ष अगाडि

कोरोना भाइरसको संक्रमणबाट जोखिन मुलुक लकडाउन भएको आज चौंथो दिन । एकाबिहानै छिमेकी महिलाले सानो बच्चालाई हतार हतार कोठाभित्र तान्दै भन्दै थिइन ‘नेपालमा पनि भाइरस भेटियो रे, अब बाँचिन्न ।’ 

चीनको वुहान प्रान्तमा देखा परेको कोरोना भाइरस (कोभिड १९)ले अहिले विश्वलाई नै त्रसित बनाएको छ । भाइरसले महामारीको रुप लिँदा हालसम्म विश्वमा २४ हजार भन्दा धेरै मानिसको ज्यान लिइसकेको छ । लाखौँ मानिसहरु संक्रममित भएका छन् । 

कोरोनाको संक्रमणका बिरामी नेपालमा पनि देखिएको अवस्थामा सबैको दिमागमा डर र आतंक उत्पन्न हुनु स्वभाविक नै मान्न सकिन्छ । वास्तवमा डर एक प्रकारको फोविया हो र नकारात्मक संवेग पनि । यो प्राकृतिक विषय भएकोले मानिसलाई मात्र होइन सम्पूर्ण प्राणी जगतलाई नै यसले तर्साउँछ । 

तर महामारीको बेला यसरी मानिसहरु तर्सेर समस्या समाधान हुँदैन । ती छिमेकी महिलाको कुरा सुनेर मलाई लाग्यो ‘उनको यस्तो छटपटीले कलिलो बाल मस्तिष्कमा कस्तो असर पर्ला ?’ 

यो त एउटा दृष्टान्त मात्र हो । एकातर्फ भाइरस संक्रमितहरु फेला पर्न थालेपछि अहिले नेपालीहरु अनावश्यक रुपमा धेरै नै त्रसित बनेका छन् । मानिसहरुको दिमागका सकारात्मक भन्दा नकारात्मक सोँचले घर गरेको छ । हामीहरु धैर्य सचेत बन्न र सकारात्मक सोँचको विकास गर्न सकिरहेका छैनौँ । हामीहरुलाई वनको बाघले होइन मनको बाघले खाइरहेको छ । 

अर्कोतिर नेपालमा यो रोग देखा परेपछि सरकारले ‘लक डाउन’ गर्दै सबै नेपालीलाई सचेत रहन आह्वान गरेको छ । जनताको ज्यान जोगाउनका लागि गरिएको यो राम्रो पक्ष हो । तर धेरै मानिसहरु अनावस्यक रुपमा सडकमा निस्किरहेका छन् । कोरोनाको उच्च जोखिममा रहेका विदेशी मुलुकबाट भर्खरमात्र घर फर्केकाहरु र शहरबाट गाउँ पसेकाहरु खुलेआम हुल बाँधेर डुलिरहेका छन् । नेपालमा भेटिएका तेश्रो संक्रमित, जो भर्खर कतारबाट फर्केका हुन उनले काठमाडौं नयाँवसपार्कको एक होटमा साथीभाइ जम्मा पारेर पार्टी नै गरेका थिए भन्ने समाचार बाहिरिएको छ । यो अर्को दृष्टान्त हो । 

अर्कोकुरा सेल्फ क्वारेन्टाइनमा बसेकाहरु आफूले देखेका कमजोरीहरुका बारेमा सम्बन्धित निकायलाई सल्लाहको रुपमा सुझाउनुपर्नेमा सरकारको चर्को आलोचना गर्नमा व्यस्त छन् । यी तीन कुराले दर्शाउँछ  ‘हामी नेपालीहरुको अति र नकारात्मकताको हद’ कति छ भन्ने । 

पहिलोपटक यो भाइरस फेला परेको मुलुक चीन भने अहिले सामान्य अवस्थामा फर्कँदैछ । संक्रमण देखापरेपछि वैज्ञानिकहरुले गरेको आँकलन भन्दा निकै तिब्र रुपमा चीनले यो संक्रमणको दरलाई रोक्यो, बिरामीलाई उपचार ग¥यो र चाँडै रोकथाम ग¥यो । 

यो भाइरस चीनमा कसरी चाँडै रोकथाम भयो ?, दक्षिण कोरियाले कसरी नियन्त्रण ग¥यो ? हामीमात्र होइन विश्वभरीका समै मानिसलाई चाँसोको विषय हो । प्रभावित मूलुकका मानिसहरु कसरी यसबाट बच्न सके?, सुरक्षित भए ?, यो झन हामीले जान्नैपर्ने विषय हो । 

विश्वभाषा क्याम्पसमा मैले नेपाली भाषा पढाएका एकजना चिनियाँ सरकारी अधिकृत स्तरका कर्मचारीसँग यसबारे चाँसो राखेँ । फेसबुक म्यासेन्जरमा उनको  जवाफ आयो, ‘नेपालमा कोरोना देखिइसकेको अवस्थामा म के कुरालाई जोड दिन्छु भन्दा सबै नेपालीहरुले लकडाउनको दृढ रुपमा पालना गर्नुपर्छ, नत्र यो नियन्त्रण गर्न सम्भव छैन, यो हाम्रो अनुभव हो ।’ विश्वभाषा क्याम्पसमा स्नातक छैठौं सेमेष्टर पढ्दै गर्दा गत माघमा जाडो विदामा आफ्नो देश फर्केर कोरोना भाइरसको कारण उतै रोकिएका उनले नेपाल र नेपालीबारे निकै चाँसो राख्छन्, उत्तिकै माया पनि गर्छन । 

नेपालमा लकडाउनको जनताले नै अवज्ञा भैरहेको, सीमा नाकाबाट हुलका हुल मानिसहरु आउँदा व्यवस्थित गर्न नसकेको लगायतका विषयमा उनले अध्ययन गरेर मलाई सन्देश पठाएका थिए । भर्खरमात्र चीनमा यस्तै संकट परेको बेला चिनियाँ जनता, सरकार, कर्मचारी र डक्टरहरुले देखाएको संयमता, सहयोग र समन्वयबारे बताउँदै उनले भनेका छन् ‘चीनमा सबै एक भएर भाइरसको सामना गरे, डक्टर नर्सहरुको त्यागले गर्दा उनीहरु चीनका वास्तविक हिरो बने ।’

हुनपनि उनको यो सन्देशमूलक कुराले मेरो मन छोयो । उनको सन्देशले म घोत्लिन पुगेँ र मनमा केही प्रश्नहरु मडारिए – ‘के हामी नेपालीहरुले सकारात्मक सोँच्नै नहुने हो ?, सडकमा हिँड्दा आफ्नो ज्यान जान सक्छ भन्ने हुँदा हुँदै पनि लखर लखर नडुली नहुने हो ?, साथीभाइ भेला भएर गफ चुटेर बस्नै पर्ने हो ?, नाका नाकाबाट पुलिसहरुलाई धकेल्दै गाउँशहर पस्नै पर्ने हो?, आफूँ बाँचेर अरुलाई जोगाउन केही समय क्वारेन्टाइनमा बस्नै नहुने हो ?, के रोग देखाउन लाज र क्वारेन्टाइनमा बस्दा इज्जत जाने हो ? सबै एकजुट हुने बेला अरुको आलोचना गरेर समय बर्बाद गर्नैपर्ने हो ?’

चिनियाँ विद्यार्थीको उक्त सन्देश पछि म नेपाली दिदीबहिनी दाजुभाइलाई भन्न चाहन्छु – जानाजानी आफ्नो खुट्टामा आफै बन्चरो नहानौँ ,
आफ्नो जीवन आफै अन्त्य नगरौँ, 
समय साथीसँग होइन परिवारसँग विताऔँ, 
हेलचेक्र्याइँ होइन, गम्भीर बनौँ,
स्वस्थ र खुसी भएर परिवारसँग बाचौँ । ।

(थापा विश्वभाषा क्याम्पसका नेपाली शिक्षक हुन्)

४ बर्ष अगाडि

प्रतिक्रिया