देवेगौडाको काठमाडौंमा यसरी बित्यो एक दिन

५ बर्ष अगाडि

काठमाडौँ – बिहानै उनी पशुपति पुगे । मूल भट्ट रावल गणेशलाई भेटे । केहीबेर कर्नाटकामा बोलिने कन्नड भाषामै कुरा गरे । त्यसपछि सुरु भयो, पशुपतिमा विशेष पूजा ।
लाखबत्तीसहितको पूजापाठपछि भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडा बिहीबार राति चेक इन गरेको होटल हायात फर्किए । त्यहाँ उनलाई भेट्न पुगेका थिए, कांग्रेस नेता प्रकाशमान सिंह, नेकपाका राजेन्द्र पाण्डे र राप्रपाका सुरेश आचार्य ।

उनीहरूसँग नेपाल–भारत दुईपक्षीय विषयमा कुराकानी भएको अन्तर्राष्ट्रियमैत्री समाज नेपालका अध्यक्ष प्रदीप खनालले बताए । सन् १९९६ देखि ९७ सम्म १० महिनाका लागि प्रधानमन्त्री भएका बेला नेपालसँग महाकाली सन्धि गरेका देवेगौडालाई होटल द्वारिकाजमा लञ्चको प्रबन्धका साथ पर्खिरहेका थिए– पूर्वप्रधानमन्त्री माधव नेपाल, लोकेन्द्रबहादुर चन्द र चुनावका लागि गठन भएको अन्तरिम सरकारका मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी । कांग्रेसनेत्री सुजाता कोइराला, नेकपाका दीनानाथ शर्मा र कृष्णगोपाल श्रेष्ठ पनि उनलाई भेट्न द्वारिकाजमै पुगे ।
नेपालका पूर्वप्रधानमन्त्रीहरूसँगको मैत्रीपूर्ण भेटघाटपछि भारतीय दूतावासमा केही समय बिताएर साँझ ५ बजे दिल्ली फर्कने देवेगौडाको योजना थियो । ‘तर दूतावास नपुग्दै उहाँलाई प्रधानमन्त्री केपी ओलीबाट भेटघाटका लागि खबर आयो,’ खनालले भने ।

निम्तोलाई खुसीसाथ स्विकार्दै उनी ओलीसँग शिष्टाचार भेटघाटका लागि बालुवाटार पुगे ।  बिहीबार राति काठमाडौं आएका ८६ वर्षीय देवेगौडाको एक दिन पूजाआजा र बाक्लो भेटघाट गर्दागर्दै सकियो । साँझ ५ बजे उनी भारत फर्किए ।  आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया