लकडाउनमा सरकारको काम : १७२१ विदेशी पर्यटक उद्धार, हेलिककप्टरमार्फत काठमाडौं

४ बर्ष अगाडि

कोभिड १९ को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सर्तकता अपनाउँदै 'नेपाल लकडाउन' पश्चात्  विभिन्न ठाउँमा रोकिएका १७२१ जना पर्यटकको उद्धार गरेको छ । लकडाउनका कारण काठमाडौं बाहिर बस्न बाध्य १७२१ जना पर्यटकलाई उद्दार गरी काठमाडौं ल्याइएको हो ।

पर्यटन बोर्डका अनुसार गत मार्च २७ देखि अप्रिल ३ तारिखसम्म विभिन्न स्थानबाट उनीहरुलाई बस तथा हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो । उनीहरुलाई सम्बन्धित देशका एम्बेसीहरुले चार्टर्ड उडानमार्फत स्वदेश फिर्ता लैजानेछन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार शनिबार मात्रै ४ वटा उडानमार्फत सम्बन्धित देशका दुतावासले विदेशी पर्यटकलाई आफ्नो देश लगेका छन् ।

पर्यटन बोर्डका अनुसार पोखरा, चितवन, लुक्ला, जोमसोम, चितवन, गुल्मी, अर्घाखाँचीलगायतका विभिन्न स्थानबाट पर्यटकहरुलाई उनीहरुकै खर्चमा काठमाडौं ल्याइएको हो ।

यसअघि सरकारले बोर्डमार्फत् काठमाडौंबाहिर रहेका विदेशी पर्यटकलाई ल्याउन सहजीकरण गर्नका लागि जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो ।

जस अनुसार उनीहरुलाई बस तथा हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको हो । साथै केही पर्यटकहरु भने अझै पनि काठमाडौं आएका छैनन् ।

स्वदेश फर्कन चाहने विदेशी पर्यटकहरुलाई मात्रै बस तथा हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया