अचार्यको उपन्यास ‘अप्रिल फुल’ को विमोचन

५ बर्ष अगाडि


काठमाडौं–पत्रकार एवं लेखक कृष्ण आचार्यको उपन्यास ‘अप्रिल फुल’को एक कार्यक्रमका बीच काठमाडौंमा विमोचन गरिएको छ । 
आख्यानकार कृष्ण धरावासी, गायक हेमन्त शर्मा, कवि ज्योति जंगल र लेखक आचार्यले संयुक्तरुपमा उपन्यासको विमोचन गरेका हुन् ।

प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित विमोचन कार्यक्रममा बोल्दै आख्यानकार धरावासीले पुस्तकको भाष, शैली र प्रस्तुतिकरणले आफूलाई तानेको बताए । उनले भने, ‘मैले कैयौँ पुस्तकहरु पढ्दा–पढ्दै बीचैमा मिल्काएको छु । तर, अप्रिल फुल त्यस्तो छैन । यसमा समावेश विषयबस्तु र घटनाक्रमले पाठकलाई अन्त्यसम्म तान्दै लान्छ ।’ उनले यसलाई उपन्यासको सबैभन्दा ठूलो विशेषता बताए ।

गायक हेमन्त शर्माले उपन्यास बजारमा चलेका अन्य उपन्याससँग प्रतिस्पर्धा गर्न सक्ने खालको भएको धारणा राखे । ‘बजारमा खुबै चलेका भनिएका उपन्यासभन्दा अप्रिल फुल कुनै कुरामा कम छैन’ शर्माले भने, ‘यस कृतिमार्फत लेखककले आफ्नो भविष्य बनाइसके । अब उनले पछि फर्किएर हेर्नु पर्ने छैन ।’
त्यस्तै, कवि ज्योति जंगलले उपन्यास समय सापेक्ष भएकाले यसले सबैको मन जित्ने विश्वास व्यक्त गरिन् । ‘उपन्यासले वर्तमान समय बोलेको छ । त्यसैले यसले सजिलै पाठकको मन जित्न सक्ने छ’, उनले भनिन्, ‘यो किशोर–किशोरीको प्रेम कथामा आधारिक उपन्यास भए तापनि आफ्ना छोराछोरीलाई बुझ्न आमा–बाबुले पनि अप्रिल फुल पढ्नुपर्ने उनको धारणा थियो ।’

विमोचन कार्यक्रममा लेखक आचार्यले उपन्यासमार्फत आफूले ‘रियालिटीलाई फिक्सनाइज’ गरेको बताए । ‘उपन्यासमा माया–प्रेम मात्र नभएर समाज र सामाजिक चित्रण पनि छ’, अचार्यले भने, ‘उपन्यासभित्र पाठकले आफू र आफ्नो सामाजिक परिवेश पाउनेछन् ।’ उपन्यासले मनोरञ्जनका साथै ज्ञान पनि दिन खोजेको उनले बतए ।
उपन्यास युरेका पब्लिकेशनले बजारमा ल्याएको हो भने यसको मूल्य ३५० रुपैयाँ रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया