नेपाल तयार भएको १० दिनसम्म पनि खुलेनन् चीनतर्फका नाका, कुटनीतिक पहल गर्न राजदूत छैनन्

३ बर्ष अगाडि

चीनले नेपालसँग सीमाना जोडिएका नाका तत्काल  खुल्न नदिने भएको छ । १० दिन अघिदेखि नेपालले रसुवागढी र तातोपानी नाका खोलेर सामान ल्याउने भनेपनि चीनले तत्काल नाका खुल्न नदिने भएको हो । 

नेपालमा कोरोना संक्रमण देखिएको भन्दै चिनियाँ अधिकारीहरुले नाका खोल्न नदिने बताएका हुन् । चीनको केरुङ प्रशासनले  नयाँ नीतिअनुसार तत्काल नाका सञ्चालन हुननसक्ने जानकारी गराएको रसुवागढी भन्सार प्रमुख पुण्यविक्रम खड्काले बताए । 

सरकारे १० दिनअघि चीनतर्फका नाका खुला गर्ने घोषणा गरेको थियो । तर चिनियाँ अधिकारीहरुले  भारतमा तीब्र गतिमा  कोरोना संक्रमण देखिएको र नेपालमा पनि संक्रमित फेला परेकोले चीन नाका खोल्न अनिच्छुक देखिएको  तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले बताए ।

सरकारले चैत १२ गते चीनमा कोरोना फैलिएपछि माघ १५ गतेदेखि बन्द गरिएको व्यपारिक नाका खुला गर्ने निर्णय गरेको थियो । 

यस्तो बेला सरकारी तहबाट कुननीतिक पहल गर्नुपर्ने बेइजिङ्ग स्थित नेपाली राजदुतावास खाली छ । सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएर महेन्द्रबहादुर पाण्डेलाई नयाँ राजदूत सिफारिस गरेको छ ।

तर संकट समाधान र सहयोग आदानप्रदानको लागि चाँडै नियुक्तिको प्रकृया भने पूरा गरेको छैन । जसका कारण नाका खुलाउन नेपालका तर्फबाट सिमा जोडिएका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु तथा भन्सार प्रमुखहरुले मात्र आफूसक्दो पहल गरेका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया