पयर्टनमन्त्रीले रोके साढे ४७ लाख कमिसनकाे खेल, अनियमितता देखिए कारबाही गर्ने चेतावनी

४ बर्ष अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमको ‘चार्टर्ड फ्लाइट’ बापतको कसिमन एजेन्टलाई दिनबाट रोकेका छन् । 

अस्ट्रेलियन दूतावासले नेपाल एयरलाइन्सको वाइडबडी जहाज चार्टर्ड  गर्दा एयरलाइन्सका कर्मचारीको सेटिङ्गमा दिन थालेको कमिसन मन्त्री भट्टराइले रोकेका हुन् । 

एयरलाइन्सका कर्मचारीले न्युजिल्यान्ड र अस्ट्रेलियाका दुई सय ७४ नागरिकलाई स्वदेश लैजान गरिएको चार्टर्ड उडानमा बोन ट्राभल्सलाई एजेण्टको रुपमा देखाएर कमिसनको खेल खेलेका थिए । 

दुतावासले आफै चार्टर्ड गरेपनि टिकेटिङ व्यवस्थापन गरेको भन्दै बोन ट्राभल्सलाई देखाइएको थियो । 

गत बुधबार निगमको जहाज काठमाडौं–अस्ट्रेलिया–काठमाडौं उडानबापत प्रतिघण्टा १८ हजार एक सय डलरका दरले शुल्क लिएको छ । त्यसबापतको चार लाख ३९ हजार दुई सय डलर र प्रत्येक यात्रुको करसमेत नेपाली रुपैयाँ पाँच करोड ४८ लाख ४३ हजार रुपैयाँ निगमको खातामा आइसकेको छ ।

सो रकमबाट एजेण्टको रुपमा काम गरेको देखाएको बोन ट्राभल्सलाई नियमसँगत ५ प्रतिशत अर्थात् २७ लाख ४५ हजार सात सय ७० रुपैयाँ दिनुपर्ने देखिन्छ । तर मन्त्री भट्टराईको निर्देशन पछि कमिसन रोकिएको छ । 

मन्त्री भट्टराईले  एजेन्ट घुसाएको विषयमा सबै तथ्य र प्रक्रिया स्पष्ट पार्न निर्देशन दिँदै नियतबद्ध रुपमा एजेन्ट घुसाएर अनियमितता भएको भए संग्लनलाई कारबाही गर्ने चेतावनी दिएका छन् । 

तर नेपाल एयरलाइन्सको वाणिज्य विभागले भने अस्ट्रेलियन दूतावासले नै चार्टर्ड सेवा सहजीकरणका लागि बोन ट्राभल्सलाई एजेन्ट नियुक्तिका लागि लेखेको पत्रका आधारमा बोन ट्राभल्सलाई ‘एजेन्ट’ तोकिएको बताएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया