नेविसंघको १२ औं महाधिवेशनको तयारी तीव्र

५ बर्ष अगाडि

काठमाडौं– १२ औं महाधिवेशनको तयारीमा जुटेको नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले महाधिवेशनको तयारीको कामलाई तीव्रता दिएको छ । 

नेपाल विद्यार्थी संघ केन्द्रिय कार्य समितिको आईतबार पनि काठमाडौंमा जारी बैठकले १२ औं महाधिवेशन सम्पन्न गर्नका लागि आवश्यक तयारीको कामलाई तीव्रता दिएको हो । महाधिवेशनका लागि आवश्यक आयोजक समिति गठन, विधान संशोधनलगायतको कामलाई सम्पन्न गर्न बैंठक केन्द्रित रहेको संघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए । 

संघको आजको बैठकले विधान संशोधन गर्नेछ । त्यसैगरी महाधिवेशन गर्नका लागि कातिक ११ गतेसम्म देशका सबै तहबाट प्रतिनिधि चयन गरी सक्ने कार्यतालिका पनि बैठकमा पेश गरिएको संघका उपाध्यक्ष पवनकुमार यादवले जानकारी दिए । नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन आगामी कार्तिक १६, १७ र १८ गते काठमाडौंमा आयोजना हुँदैछ । उपाध्यक्ष यादवले महाधिवेशनका लागि प्रतिनिधि चयनको काम आगामी असोज ७ गतेबाट सुरु गर्ने प्रस्ताव पनि बैठकमा गरिएको बताए । 

संघका अध्यक्ष महरको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति बनाउने प्रस्ताव पनि बैठकमा गरिएको छ । अध्यक्ष महरले प्रतिनिधि चयनको काम स्वच्छ ढंगले सम्पन्न गर्न मातहतका सबै समितिहरुलाई सचेत गराएका छन् । महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमितिहरु पनि गठन गरिने संघले जनाएको छ ।

नेपाल विद्यार्थी संघभित्र पनि महर संस्थापन पक्षका रहेका छन् भने महासचिव कुन्दनराज काफ्ले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् । दुवै पक्षबीच आगामी महाधिवेशनको नेतृत्वलाई लिएर वाद, विवाद र प्रतिवाद पनि हुँदै आएका छन् ।

 

५ बर्ष अगाडि

प्रतिक्रिया