अभिनेत्री वर्षा : एक अर्कासँग प्रतिस्पर्धा गरेर बस्ने समय नभएको उनको भनाई

३ बर्ष अगाडि

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले तीन हप्ता लामो ‘लकडाउन’ घोषणा गरेपछि फिल्ममा ज्याला मजदुरी गरेर परिवार पाल्ने प्राविधिकहरुको अवस्था दयनिय बनेको छ । प्राविधिकहरुलाई बिहान बेलुका हातमुख जोर्नै समस्या हुन थालेपछि अहिले विभिन्न फिल्मकर्मीहरुले आर्थिक र खाद्यन्न सहयोग गरिरहेका छन् । 
 
‘लकडाउन’ पछि घरको चारकुनामा सीमित भएकी अभिनेत्री वर्षा राउतले पनि प्राविधिकहरुका लागि ५१ हजार नगद सहयोग गरेकी छन् । तर, उनलाई यो विपत्तको समयमा नेपाली फिल्मकर्मीबीच प्राविधिकलाई सहयोग गर्न चलेको ‘तँ ठूलो कि म ठूलो’ भन्ने अस्वस्थ प्रतिस्पर्धा पिटिक्कै मन परेको रहेनछ । अहिले एकअर्कासँग प्रतिस्पर्धा गरेर बस्ने समय नभएको उनको भनाई छ ।
 
हास्यकलाकार दीपकराज गिरीले ‘नेपाली फिल्मकर्मीलाई एक्लै हिरो हुने बानी परेका छ’ भन्दै फेसबुकमा लेखेको स्टाटरमा वर्षाले ‘कोभिड १९’ सँग लड्न विश्व एकजुट भएको अवस्थामा नेपाली फिल्मकर्मी भने एकअर्कासँग लडिरहेको भन्दै कमेन्ट गरेकी छन् । उनले लेखेकी छन्, ‘यहाँ प्रतिस्पर्धा पो छ नी । कसले धेरै दियो, कसले कसलाई जित्यो, फलानोले ढिस्कानोको कपी गर्‍यो ।’

त्यस्तै, दीपकराजको स्टाटसमा अभिनेत्री पूजा शर्माले पनि आफ्नो प्रतिक्रिया जनाएकी छन् । उनले अरुले के भन्यो र गर्‍यो भन्ने कुरामा नलाग्न दीपकराजलाई आग्रह गरेकी छन् । उनले लेखेकी छन्, ‘एउटा मनबाट कसैप्रति माया आउनु र सहयोगको भावना हुनेप्रति भगवान छ दा । अरुले के भन्यो र के गर्‍यो भन्ने कुरामा हामी लाग्नु पनि हुन्न । सहयोग आफ्नो खुसीका लागि गर्ने हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया