सुरक्षित र सकारात्मक रहन अभिनेत्री रीमाको अनुरोध

४ बर्ष अगाडि

‘लकडाउन’ को समयमा अत्यावश्यक कामबाहेक घरभन्दा बाहिर निस्कन नपाइने हुँदा वर्षभरी छायांकन वा देश तथा विदेशमा हुने कार्यक्रममा व्यस्त हुने नेपाली कलाकारहरु गएको दुई हप्तादेखि परिवारसँग समय विताइरहेका छन् । उनीहरुको दैनिकी कसरी वितिरहेको छ भन्ने थाहा पाउन फेसबुक वा इन्स्टाग्राम निहाले पुग्छ । सबै परिवारसँग समय विताउन पाएकोमा खुसी छन् ।
 
अभिनेत्री तथा उद्घोषिका रीमा विश्वकर्मा केही वर्षयता घरमा फुर्सदसँग एकदिन पनि बस्न पाएकी थिइनन् । अन्य वर्षको तुलनामा यो वर्ष उनको दौडधुप ज्यादा थियो । वर्षको सुरुवाततिर फिल्म ‘मिस्टर नेपाली’ को छायांकनमा व्यस्त भइन् । त्यसलगत्तै उनले आफ्नै टिम (केकी अधिकारी र विशाल भण्डारी) को कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ मा होस्टको जिम्मेवारी निभाइन् ।

यसबीच, अभिनेत्री रीमाले बुधवार फेसबुकमा दुई हात जोडेको आफ्नो एक तस्विर साझेदार गर्दै कोरोनाको यो महामारी चाँडै समाप्त हुने विश्वास व्यक्त गरेकी छन् । उनले अब दुनियाँमा पैसा प्रमुख शक्ति नरहेको पनि उल्लेख गरेकी छन् । उनी लेख्छिन्, ‘दुनियाँ शान्त छ । हावा सफा छ । हामी स्वच्छता र स्वास्थ्यप्रति जागरूक छौं । व्यस्त तालिका विश्राममा बदलिएको छ ।’ 
 
उनले अगाडि लेखेकी छन्, ‘फास्ट फूडलाई घरमा पाकेको खानेकुराले प्रतिस्थापन गरेको छ । सबै जना एकअर्कासँग कुरा गर्दै र सँगै भोजन गर्दैछन् । पैसा अब संसारमा प्रमुख शक्ति जस्तो देखिँदैन ।’ यो समयमा सबैले सबैका लागि प्रार्थना गरिरहेको उनको भनाई छ । अहिले एकअर्कासँग कुरा गर्ने र मुस्कुराउने समय रहेको बताउँदै उनले सुरक्षित र सकारात्मक रहन पनि अपिल गरेकी छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया