बंगलादेश सरकारले भन्यो : भारतको चिन्ता नगर, हामी कुरा गर्छौ, विद्युत्मा ठूलो लगानी हुन्छ

५ बर्ष अगाडि

काठमाडौ । सरकारी तहमा नै नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्ने चासो बंगलादेश सरकारले व्यक्त गरेको छ ।

विशेष गरी ठूला परियोजनामा जतिसुकै भएपनि लगानीका लागि बंगलादेश सरकार तयार देखिएको छ ।

बंगलादेशमा हाल सहुलियत दरमा प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा नागरिकलाई विद्युत् उपलब्ध गराइएको भएपनि प्रतियुनिट लागत भने १० बंगलादेशी मुद्रा(टाका) बराबर रहेको छ । त्यो भने नेपाली मुद्रामा रुपान्तरण गर्दा रु १४ जति पर्न आउँछ ।

उत्पादन लागत बढी रहेका कारण उनीहरुले क्रमशः कोइला र थर्मल ऊर्जा प्लान्टलाई बन्द्य गरेर भएपनि ऊर्जाको स्रोतका लागि जलविद्युत् क्षेत्रलाई नै अगाडि बढाउन खोजेका छन् ।

त्यसका लागि उनीहरुले नेपाल र भुटानलाई प्रमुख गन्तव्यका रुपमा परिभाषित गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा ऊर्जामा लगानी गर्ने र त्यसबाट विद्युत् आपूर्ति गरेर बंगलादेशको अर्थतन्त्रलाई थप उचाईमा लैजाने योजनामा सरकार लागेको सहजै बुझ्न सकिन्छ ।

त्यसका लागि उनीहरुले दीर्घकालीन रणनीति अगाडि सारेका छन् । सुन् २०४० सम्म करिब ६० हजार मेगावाट विद्युत् उत्पादन गर्ने योजनामा उनीहरु लागेका छन् । सो योजना कार्यान्वयनका लागि करिब १० हजार मेगावाट विद्युत् नेपालबाट खरिद गर्ने उनीहरुको योजना रहेको छ ।

ऊर्जाको माग अत्याधिक मात्रामा बढेको र त्यसको सम्बोधनका लागि सबै प्रकारका उपाय अवलम्बन गरेको बंगलादेश सरकारले नेपाललाई उच्च प्राथमिकतामा राखेर अभियान समेत अगाडि बढाएको छ । तथ्य र कारणहरुले पनि नेपालबाट विद्युत् आयात गर्नु उनीहरुका लागि थप सहज र वैज्ञानिक हुने देखिएको छ ।

लागतका आधारमा पनि नेपालको विद्युत् उनीहरुलाई कम पर्ने भएकाले सबै खालको सहयोग गर्न आग्रह गरेको छ ।

बंगलादेशको भ्रमणमा गएका ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री बर्षमान पुनलाई उनीहरुले लगानीको चिन्ता नगर्न आग्रह गरेका छन् । पहिलो चरणमा सरकारी तहमा नै लगानीको वातावरण बनाउने र दोस्रो चरणमा निजी क्षेत्रसँगको सहकार्यमा आयोजना अगाडि बढाउन तयार भएका छन् ।

उनीहरुले प्रसारण लाइनको विषयमा कुने पनि चिन्ता नलिन नेपाल सरकारलाई आग्रह गरेका छन् । प्रधानमन्त्री शेख हसिना र विद्युत् ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले प्रसारण लाइनको विषय आफूहरुको समस्या भएकाले त्यसमा आफूहरु नै लाग्ने बताएका छन् ।

भारतसँग हामी कुरा गर्छौ, त्यो तपाईहरुको चिन्ताको विषय होइन, हामी जसरी भएपनि भारतलाई मनाउँछौ, र विद्युत् सहज रुपमा नेपालबाट आयात गर्छौ, प्रधानमन्त्री हसिना र राज्यमन्त्री हमिदको साझा भनाइ छ ,

उत्पादन लागतलगायतका हिसाबले पनि उनीहरुलाई विद्युत् आयात नै सहज विकल्प रहेको निष्कर्षमा बंगलादेश सरकार पुगेको छ । त्यसले उनीहरुको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएका छन् ।

कोइलाबाट विद्युत् उत्पादन  गर्दा वातावरणीय समस्या बढेको, लागत पनि बढी पर्न गएको छ । यस्तै आणविक भट्टीबाट पनि वातावरणीय जोखिम निम्तन सक्ने देखिएको छ । यी र यस्ता समसयासँग जुध्नु भन्दा नेपालको स्वच्छ पानीबाट उत्पादित विद्युत् नै उनीहरुका लागि ग्राह्य हुने देखिउको छ । लागत पनि कम , वातावरण पनि समस्यामा नपर्ने भएकाले भारतलाई मिलाएर नेपालको विद्युत् लैजाने योजनामा बंगलादेश सरकार लागिपरेको छ ।

नेपालको ऊर्जामा लगानीका लागि उनीहरुले सरकारी तहमा नै संयन्त्र समेत बनाएका छन् । आगामी अक्टोबरमा दुई देशका ऊर्जा मन्त्रालयका अधिकारीबबीच द्विपक्षइि छलफल गर्ने निष्कर्षमा उनीहरु पुगेका छन् ।

सरकारी तहमा राम्रो र गहिरो समझदारी गरेपनि निजी क्षेत्रलाई व्यापक रुपमा रुपमा लगानीका लागि परिचालन गर्ने उनीहरुको योजना रहेको सहजै बुझ्न सकिन्छ ।

नेपाल र बंगलादेशबीच व्यापार तथा वाणिज्यको क्षेत्रमा समेत प्रभावकारी रुपमा देखिने गरी काम गर्ने उनीहरुको इच्छा रहेको छ । त्यसका लागि बहुपक्षीइ संयन्त्र बनाउने योजना बंगलादेशले सारेको छ ।  

 

५ बर्ष अगाडि

प्रतिक्रिया