प्रसूति सेवामा कुनै समस्या छैन : भरतपुर अस्पताल

४ बर्ष अगाडि

भरतपुर अस्पतालमा प्रसति सेवा निःशुल्क रहेको छ  । तर त्यही सेवाका लागि निजी अस्पतालमा चर्को शुल्क असुल्ने गरिन्छ । 

अहिले भरतपुर अस्पतालमा कोभिड–१९ को जोखिमको त्रास देखाएर निजी अस्पतालले बिरामी लाने गरेका बताइएको छ । भरतपुर अस्पतालका स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा सुनिलमणि पोखरेल अस्पतालको प्रसूति विभाग छुट्टै भवनमा भएकाले पूर्ण रुपमा सुरक्षित रहेको जानकारी दिए । लकडाउनका कारणले सुत्केरी गराउन अस्पताल आउनेको सङ्ख्या केही कमी भएको र अस्पतालको जस्तो सुविधा अन्यत्र नरहेको बताए । 
 
अस्पतालको प्रसूति रोग विभागमा १४  विशेषज्ञ चिकित्सक तथा ८० नर्स तथा स्वास्थ्यकर्मी  रहेका छन् ।  डा पोखरेलले भने, “ हाम्रो सेवा उत्कृष्ठ छ । अन्यत्र दाँज्नै मिल्दैन । कोरोनाको डर मान्नुपर्ने अवस्था रहेको छैन । ” 

सबै अस्पतालमा छुट्टै  फिवर क्लिनिक र आइसोलेशन श्यया  रहेको छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार गतवर्ष १३ हजार ५००  र यसवर्ष चैत महिनासम्म नौ हजार ७२८ एक हजार ११ ले प्रसूति सेवा लिएका थिए ।  

अस्पतालका बालरोग विशेषज्ञ डा युवानिधि बस्यौलाका अनुसार यहाँ १२ श्ययाको सघन उपचार कक्ष, ६ जना क्षमताको कंगारु मदर केयर,  १५ श्ययाको नवजात शिशु वार्ड र १० जना क्षमताको पोषण एकाइ छ । बालरोग विभागमा १० जना विशेषज्ञ चिकित्सक र चार जना मेडिकल अधिकृत कार्यरत रहेका छन् । सघन उपचार कक्षमा दैनिक  रु एक हजार लिइन्छ भने अन्य सबै सेवा निशुल्क छ । सघन उपचार कक्षमा निजीमा एकै दिनको रु १० हजार खर्च हुने गर्दछ । 

काठमाडौको परोपकार प्रसूति गृहपछि  भरतपुर अस्पतालमा धेरै प्रसूति गराउने गरेको तथ्याङ्क छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी प्रसूति सेवा प्रदान गर्न कुनै समस्या नभएको बताउँछन् । 

भरतपुर अस्पताल गतवर्ष केन्द्रीय अस्पताल बनेको हो । सो अस्पतालमा  चितवनसहित १९ जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । हरेक वर्ष अस्पतालमा तीन लाखभन्दा बढीले सेवा लिएको जनाइएको छ । अस्पतालमा ६०० श्यया छन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया