स्वास्थ्यकर्मीको मनोबल बढाउन आग्रह

४ बर्ष अगाडि

नेपाल बार एशोसिएशनले कोरोना भाइरस परीक्षण र उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ्य उपकरण, स्वास्थ्य सामग्री एवं सुरक्षा उपकरणको व्यवस्था मिलाइ स्वास्थ्यकर्मीको मनोबल बढाउन आग्रह गरेको छ । 
    
बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले आज जारी गरेको विज्ञप्तिमा कोरोना भाइरस परीक्षण गर्ने किट तथा जनशक्ति थप गरी सबै जिल्ला अस्पतालमा परीक्षण र उपचार गर्ने  व्यवस्था मिलाउन भनिएको छ । 
    
केही अस्पतालले अन्य प्रकारका बिरामीको स्वास्थ्य परीक्षणसमेत नगरेको भन्ने देखिरहेको हुँदा सबै सरकारी तथा निजी अस्पताललाई अनिवार्य जाँच तथा परीक्षण र उपचार सेवा प्रदान गर्न निर्देशन मात्र नभई अविलम्ब सेवा सञ्चालन गर्न विज्ञप्तिमा आग्रह गरिएको छ ।
    
सङ्क्रमण रोक्ने उद्देश्यका साथ जारी ‘लकडाउन’लाई व्यवस्थित गर्न अहोरात्र खटिएका सुरक्षाकर्मी, एम्बुलेन्स, शववाहन चालकसमेतलाई थप स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउनुका अतिरिक्त थप प्रोत्साहन भत्ताको व्यवस्था गर्न उक्त विज्ञप्तिमा भनिएको छ । 
    
विज्ञप्तिमा लकडाउनको अवधिमा अत्यावश्यक कामले घर बाहिर निस्केका व्यक्तिलाई सुरक्षाकर्मीबाट उचित व्यवहार नभएकाले संयमित भई मानव अधिकारको संरक्षण गर्नेतर्फ सचेत गर्न माग गरिएको छ । 
    
बारले लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने व्यक्ति, गरिब, किसान, मजदूर तथा असहाय व्यक्ति र नाजुक आर्थिक अवस्था भएका व्यक्ति तथा समुदायमा दैनिक खाद्यान्नको समेत अभाव भएको र सरकार तथा स्थानीय तवरबाट भएका प्रयास अझै पर्याप्त नभएको हुँदा तत्काल एकल प्रणालीमार्फत गुणस्तरीय सामान अविलम्ब वितरण गर्ने व्यवस्था गर्नुपर्ने माग गरेको छ । 
    
अदालतबाट हुने सेवा प्रवाहलाई केही कटौती गर्नुपर्ने देखिएको र सङ्क्रमणको जोखिमबाट बच्न, सहजतापूर्वक सेवा प्रवाह गर्न सर्वोच्च अदालतको ध्यान आकर्षण गराइएको छ । बारले दैवी प्रकोप उद्धार राहत कोषको व्यवस्था गरी इच्छुक कानुन व्यवसायीलाई सहयोग गर्न अनुरोध गरेको छ । कुनै कानून व्यवसायीलाई लामो बन्दाबन्दीका कारण आर्थिक अभाव भई आफ्नो उपचार गर्न वा दैनिक गुजारा गर्नसमेत अप्ठ्यारो परेमा कानून व्यवसायीलाई आआफ्नो एकाइमार्फत सहयोग गर्न अनुरोध गरिएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया