नयाँ वर्षमा कालीगण्डकीमा स्नान र मेला लगाउन रोक

४ बर्ष अगाडि

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ भाइरसको सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि नयाँ वर्ष २०७७ का अवसरमा कालीगण्डकी नदीमा स्नान गर्न र मेला लगाउन रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै कालीगण्डकीमा मेला लगाउन रोक लगाएको हो । नव वर्षका अवसरमा गरिने कुनै पनि धार्मिक मेला, पूजाआजा सांस्कृतिक जमघट नगर्न प्रशासनले अनुरोध गरेको छ । 

मुलुक तीन साता लामो ‘लकडाउन’मा रहेका बेला यस्ताखाले मेला र पूजाआजाले एक अर्काबीच सङ्क्रमण फैलिनसक्ने जोखिम भएकाले घरमै बसेर सहयोग गर्न पनि आग्रह गरिएको छ । पछिल्लो केही दिनयता अन्तर जिल्ला र अन्तरपालिका तथा कतिपय ठाउँमा अन्तरवडासमेत आवतजावतमा कडाइ भएका बेला परम्परागतरुपमा मनाउँदै आएको कालीगण्डकी स्नान तथा जमघटले सामाजिक दूरीसमेत कायम नहुने र अन्य जोखिमसमेत निम्तिने भएकाले सचेत हुन भनिएको हो । 

प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले सूचना जारी गर्दै यो स्वयं आफैँका लागि खतरा भएकाले सरकारले आह्वान गरेको लकडाउनलाई पालना गर्दै कालीगण्डकीलगायत मठमन्दिरमा नजान आग्रह गरेका छन् । नव वर्षको वैशाख सङ्क्रान्तिका अवसरमा पवित्र कालीगण्डकीको तटमा पर्ने मोदीवेणी, सेतीवेणी, पूर्तिघाट, जैमिनीघाट, नयाँपुल, सहस्रधारा, वारिवेनी, मिलनचोकलगायतका स्थानमा स्नान गर्नेको भिड लाग्ने गर्दछ । प्रशिद्ध मोदीवेणी र विश्वकै ठूलो शालिग्राम शिला रहेको सेतीवेणीमा ठूलो मेला लाग्ने प्रचलनसमेत रहेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया