माथिल्लो तामाकोशीको साधारण शेयरमा तीन गुणा बढी आवेदन, स्थानीयले कति पाउँछन्

५ बर्ष अगाडि

काठमाडौँ– माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा तीन गुणा बढीको आवेदन परेको छ । 

आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार बिक्री प्रबन्धक नागरिक लगानी कोषले उपलब्ध गराएको प्रारम्भिक तथ्याङ्कमा तीन गुणा बढी आवेदन परेको हो । थप विवरण भने बिक्री प्रबन्धकले केही दिनमा उपलब्ध गराउने छ । 

करीब दुई लाख दोलखावासीले आयोजनाको साधारण शेयरमा आवेदन गरेको प्रवक्ता न्यौपानेले जानकारी दिए । 

स्थानीयले रु एक अर्ब ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता साधारण शेयर पाउने छन् । त्यो स्थानीयवासीलाई छुट्याइएको दश प्रतिशत बराबरको साधारण शेयर हो । 

यस्तै आयोजनाले आम नेपालीलाई कुल पूँजीको १५ प्रतिशत साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । 

सो अनुपातमा सर्वसाधारणले रु एक अर्ब ५८ करोड ८५ लाख बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर बिक्री गरिनेछ । 

आयोजनाले गत साउनको अन्तिम सातासम्म काठमाडौँमा बसोबास गर्दै आएका दोलखावासीलाई यही भदौको २१ गतेसम्म दोलखा जिल्लामा नै शेयर बिक्री गरेको थियो । 

दोलखामा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भौतिक निर्माण ९६ प्रतिशत सम्पन्न भएको छ । आयोजनाले यसअघि नै कर्मचारी सञ्चय कोषका कर्मचारी र पाँच लाख बढी सञ्चयकर्तालाई साधारण शेयर बिक्री गरिसकेको छ । तर हालसम्म बिक्री भएका साधारण शेयर नेपाल स्टक एक्चेन्जमा भने सूचीकृत हुन सकेको छैन । 

स्थानीय तथा सर्वसाधारणलाई छुट्याएको क्रमशः १० र १५ प्रतिशत साधारण शेयर बिक्री भएपछि मात्रै कर्मचारीलाई बिक्री गरिएको शेयर स्टकमा सूचीकृत गर्ने तयारी गरिएको हो । 

आयोजनाले स्थानीयलाई समेत विभिन्न तीन श्रेणीमा विभाजन गरी शेयर बिक्री गरेको थियो । त्यसमा अति प्रभावित, प्रभावित र कम प्रभावित क्षेत्र रहेका छन् । 

गौरीशङ्कर गाउँपालिकाको लामाबगर र गोंगर अति प्रभावित, प्रवेश मार्ग तथा प्रसारण लाइनले छोएको प्रभावित र कतै नछोइएको क्षेत्र कम प्रभावितमा राखिएको थियो । स्थानीयवासीलाई न्यूनतम ३० देखि अधिकत्तम ३०० सय कित्तासम्म शेयरमा आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । 

कम्पनीले यसअघि कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीका लागि छुट्याएको २४ प्रतिशत शेयर बाँडफाँड गरिसकेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया