कोरोनाले रोकियो नेपालकाे रेल, कहिले शुरू गर्ने झन् अन्याैल

४ बर्ष अगाडि

कोरोना भाइरसको संक्रमण रोक्नका लागि गरिएको लकडाउनका कारण जनकपुर–जयनगर रेलमार्गको कारम रोकिएको छ । 

चालू आर्थिक वर्षभित्रै सञ्चालनमा आउने भनिएको जनकपुर–जयनगर रेल सञ्चालन नेपाल र भारत दुवैै मुलुकमा लकडाउन भएपछि रोकिएको हो । 

कोरोना भाइरसका कारण तत्काल नेपालले खरिद गरेको रेल ल्याउन सकिने स्थिति नभएको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए । 

रेल कुद्नका लागि रेलमार्ग पनि निर्माण भारतले गरिदिएको छ भने नेपालले भारतको कोंकोण कम्पनीबाट रेलको इन्जिन, बग्गीलगायत खरिद गरिसकेको छ ।

रेल विभागले आवस्यक जनशक्ति भर्नाको व्यवस्था मिलाउँदै गर्दा लकडाउन शुरु भएको हो । नेपालमा रेल चलाउने प्राविधिक नभएका कारण अन्यमूलुकका कर्मचारी पनि राख्न सरकारले बाटो खोलिदिएको थियो । 

महानिर्देशक मिश्रका अनुसार कर्मचारी छनोट, उनीहरूको तालिम प्रक्रिया सञ्चालनको जिम्मालगायतका काम रोकिएकोले अब फेरी भर्ना छनोटको काम शून्यदेखि शुरु गर्नुपर्छ । 

‘अब हामीले फेरि हाम्रो तयारी शून्यबाट सुरु गर्नुपर्नेछ, रेल ल्याउन समय लाग्छ, कोरोना भाइरसको असर कति पर्छ, त्यसमा निर्भर रहन्छ,’ मिश्रले भने ।

रेलसेवा सञ्चालनका लागि सरकारले सरकारी स्वामित्वमा रहेको नेपाल रेल्वे कम्पनीलाई जिम्मेवारी दिएको छ । सोहीअनुसार रेल सञ्चालनका लागि रेल्वे कम्पनीले चालू आर्थिक वर्षभित्रै रेल सञ्चालन गर्ने गरी तयारी गरेको थियो । रेल सञ्चालनकै निम्ति भनेर कम्पनीले करिब एक सय ५० भन्दा बढी कर्मचारी भर्ना गर्ने तयारी गर्दै थियो । 

यसअघि विभागले पहिलो चरणमा २६ कर्मचारी माग गरेको थियो । पहिलो चरणमा नेपाली नागरिकलाई भर्नाका लागि आवेदन दिन भनिएको थियो । तर, कुनै पनि नेपालीको आवेदन परेन । नेपाली नागरिकबाट कर्मचारी पाउन नसकेको खण्डमा श्रम ऐन, २०७४ को दफा २२ बमोजिम कर्मचारी परिपूर्ति गर्ने योजनामा रेल विभाग रहेको थियो । 

तर, यसैबीच कोरोना भाइरसको जोखिम बढ्न थाल्यो । सोही कारण आवश्यक कर्मचारी छनोट प्रक्रिया पनि रोकियो । र, रेल सञ्चालनको प्रक्रिया अनिश्चित बन्न पुग्यो । 

४ बर्ष अगाडि

प्रतिक्रिया