विनोद चौधरीको ज्यादती विरुद्ध उत्रिए पर्वतबासी, मध्य मोदी जलविद्युत् आयोजनामा तालाबन्दी

५ बर्ष अगाडि

काठमाडौ । स्थानीयवासीको अवरोधका कारण नेपालका खर्बपति विनोद चौधरीको चौधरी ग्रुपले निर्माण गरिरहेको मध्यमोदी जलविद्युत् आयोजना विगत ४ दिनदेखि दिनदेखि ठप्प भएको छ ।

स्थानीयवासीले आयोजनाको कार्यालयमा तालाबन्दी गर्नुका साथै काममा समेत अवरोध गरेका कारण आइतबारदेखि निर्माण कार्य रोकिएको हो ।

आयोजनाको सुरुङ निर्माणका क्रममा बम विस्फोट गर्दा स्थानीय बस्ती जोखिममा परेको भन्दै स्थानीयवासीले तालाबन्दी गरेका हुन् । बम विस्फोट गर्दा स्थानीयवासीको १६ घरमा क्षति भएको बताएका छन् ।

पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा निर्माणाधीन जलविद्युत् आयोजनामा बम विस्फोट गर्दा घरहरू भत्किन थालेको भन्दै स्थानीयवासीले जिल्ला प्रशासनमा समेत जानकारी गराएको भए पनि कुनै सुनुवाइ नभएपछि तालाबन्दी गरेको बताएका छन् ।

ठाना, कल्लेनी र ओख्लेमा घरहरू भूकम्पको झँै भत्किन थालेपछि स्थानीवासीले जलविद्युत् आयोजनाको ध्यानाकर्षण गराउँदासमेत कुनै सुनुवाइ नभएको भन्दै आयोजना ठप्प बनाएका हुन् ।

स्थानीयवासी रामकुमारी पोख्रेल, मेघराज ढुङ्गाना, शेरबहादुर खत्री, खमबहादुर खत्री, मीनकुमारी खत्री, माया खत्री, सावित्री पोख्रेल र रामबहादुर खत्रीको घर पूर्णरूपमा क्षति भएको स्थानीयको भनाइ छ ।

त्यसैगरी लक्ष्मीबहादुर खत्री, होम शर्मा, भगवती जैसी, राधिका शर्मा, खडानन्द जैसी र गोविन्द जैसीको घरमा समेत क्षति पुगेको र अन्य दर्जन घरमा आंशिक क्षति भएको छ ।

स्थानीयवासीले आवास निर्माण वा घरबारको क्षतिपूर्तिको माग गरेका छन् । आफूहरूको माग सुनुवाइ नभए चरणबद्धरूपमा आन्दोलनमा जाने संयोजक पोखरेलले जानकारी दिनुभयो ।

आयोजनाप्रमुख निरञ्जन राउतका अनुसार उनीहरूको घरमा क्षति पुगेको आयोजनाका कारण नभई ७२ को भूकम्पका कारण भएको हुनसक्ने बताए । उनले आयोजनाले क्षति पु¥याएको हो वा अन्य कारणले हो भन्ने कुरा विशेषज्ञ ल्याएर नै परिक्षण गर्नुपर्ने बताए ।

चौधरी ग्रुपले निर्माण गरिरहेको १५.१ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको झण्डै ६० प्रतिशत निर्माण कार्य पूरा भएको छ । २०७१ मङ्सिर ७ गतेदेखि निर्माण शुरु गरेको आयोजना गत वर्ष नै सकिनुपर्ने थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया