बिफर फैलिएको र विश्वयुद्ध भएको वर्षजस्तै २०७७ सालमा पनि यमघण्ट योग,  जोगिन राज्यले स्वस्ति शान्ती गर्नुपर्ने

३ बर्ष अगाडि

ज्योतिषशास्त्रले बताएका धेरै कुराहरु पुग्ने जनविश्वास छ । दिन, महिना, वर्ष तथा राशीको परिकल्पना गरेर ज्योतिषशास्त्रीहरुले यस्ता कुराहरुको भविष्यवाणी गर्छन् । 

त्यस्तै परिकल्पना विसं २०७७ सालका लागि पनि ज्योतिषशास्त्रीहरुले गरेका छन् ।  यो वर्ष मूल नक्षत्र र षष्ठी तिथिमा शुरु भएकाले धेरै घटना हुने जनाएका छन् । 

वैशाख १ गते मूल नक्षत्र एवं षष्ठी तिथि पर्दा यमघण्ट योग बनेकाले  वर्षामा रोग फैलने, गाई, बाख्राजस्ता घरेलु चौपायाका साथै हात्ती, घोडा, ऊँटलगायत जनावरमा रोगको प्रकोप हुने समितिको सदस्य सचिवसमेत रहेका पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले बताए । 

बृहस्पतिका कारण बेसारलगायत पहेँला वस्तुप्रति सबैको रुचि बढ्ने छ । फलेश सूर्यका कारण पृथ्वीमा फल र फूल प्रशस्त उत्पादन हुनेछ । 

जगल्लग्न कुण्डलीअनुसार लग्नेश मङ्गल तृतीयस्थानमा बृहस्पति र शनिको साथमा मित्रगृही भएर बसेका कारण विश्वव्यापी कोरोना भाइरसको सङ्क्रमण फैलिएको सहप्राध्यापक पाण्डेय बताउँछन् । 

राजा रणबहादुर शाहका पालामा फैलिएको बिफरको महामारी र दोस्रो विश्वयुद्धका बेलासमेत यस्तै ग्रहयोग परेको ज्योतिषका पण्डितको विश्लेषण छ ।     
     
बृहस्पति (गुरु) का कारण उचित वर्षा हुनाले धान आदि अन्नको प्रशस्त उत्पादन हुनेछ । दुग्ध पदार्थको उत्पादन समेत बढ्नेछ । नासपाती, अङ्गुरजस्ता फलको मूल्य सस्तो हुनेछ । 

बृहस्पतिका कारण व्यापारी वर्ग खुशी र सुखी हुनुका साथै व्यापारघाटा समेत घट्ने वर्षफल सूर्य पञ्चाङ्गले उल्लेख गरेको छ ।   

 ज्योतिषशास्त्र अनुसार यमघण्ट योग परिराख्ने भए पनि वर्षको पहिलो दिन सङ्क्रान्तिमै परेकाले बढी शक्तिशाली बनेको संहिताशास्त्री बाँस्तोलाको भनाइ छ । वर्षको ग्रहपरिषद् अनुसार बुध राजा र चन्द्रमा मन्त्री पदमा छन् ।

 ज्योतिष शास्त्रअनुसार राजकुमार राजा र राजा मन्त्रीका रुपमा रहेकाले विश्व शासन व्यवस्थामा अविवेक उदय एवं महत्वाकाङ्क्षाका कारण प्रचारबाजीले स्थान पाउने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको सूर्य पञ्चाङ्गमा उल्लेख छ । 

शास्त्रीय विधिअनुसार राज्यका तर्फबाट स्वस्ति शान्ति गर्नुपर्नेमा संहिताशास्त्रीले जोड दिएका छन् । 

मेदिनी ज्योतिषअनुसार बताइएको शान्तिको विधि गर्नुपर्ने संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाले बताए ।  मयूरचित्रकम् नामको ज्योतिष ग्रन्थमा षष्ठी तिथि र मूल नक्षत्रको योग पर्दा यमघण्ट योग हुने उल्लेख गरिएको छ । सोही ग्रन्थमा यसको दोष निवारणको विधि बताइएको पनि उनले बताए ।     
     
मुहूर्तमार्तण्ड र मुहूर्तचिन्तामणि नामक ज्योतिषग्रन्थमा पनि यो योगका विषयमा बताइएको छ । 

नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका सहप्राध्यापक डा माधवप्रसाद पाण्डेय मूलको अन्तिम पाउको योग परेकाले धेरै क्षति हुने योग नभए पनि राज्यका तर्फबाट शान्ति गर्दा अझ राम्रो हुने बताउँछन् ।  

३ बर्ष अगाडि

प्रतिक्रिया