कहाँ चुक्यो नेपाली टिम ?

५ बर्ष अगाडि

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको अर्को एउटा संस्करणबाट नेपाल निराश भएको छ ।

प्रतियोगितामा सहभागी हुन जाँदा दावेदारकारुपमा जाने तर फर्कंदा रित्तै हात फर्किनुपर्ने नेपालको नियति यसपटक पनि दोहोरिएको हो ।

बंगलादेशको बंगबन्धु रंगशालामा माल्दिभ्सलाई हराउन सकेको भए नेपाल साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुग्दथ्यो ।

उपाधि जित्ने अवसर त हुन्थ्यो नै, फाइनल प्रवेश नेपालका लागि आफैंमा नयाँ इतिहाससमेत बन्दथ्यो । तर, परिणाम नेपालले सोचेअनुसारको आएन ।

प्रतियोगिताको सेमिफाइनलसम्म पुग्दा माल्दिभ्सलाई भाग्यले पनि साथ दिएको थियो । तर, यसकैपछि लागेर उसको वास्तविक शक्तिको ख्याल नगर्दा पनि नेपालले भारी मूल्य चुकाउनुपर्‍यो ।

पछिल्लो समय नेपाली टोलीको राम्रो ‘होम ग्राउन्ड’ छैन । एन्फा कम्प्लेक्स सातदोबाटोको कृत्रिम पिच अर्थात् टर्फमा नेपालले नियमित अभ्यास गरिरहेको छ । यस्तोमा घाँसेमैदानमा खेल्न कठिन हुनु स्वाभाविक पनि होला !

कप्तान विराज महर्जन यही घाँसेमैदानको अभाव र मौसमका कारण माल्दिभ्सविरुद्धको खेल गुमाएको मान्छन् ।

नेपालका प्रशिक्षक बालगोपाल महर्जनको बुझाइ अलि फरक छ । खेलपूर्व माल्दिभ्सलाई कमजोर आँक्नु नै समग्र प्रदर्शनको निर्णायक विन्दु रहेको उनको ठम्याइ छ ।

नेपाली खेलकुदको एउटा नियति छ । असफलता वा हारको जिम्मा सधैं राज्यलाई थोपर्ने । यसपटक साफ च्याम्पियनसिपमा हात लागेको निराशामा पनि चाहने हो भने राज्यलाई जोड्न सकिन्छ ।

खेलकुदका पर्याप्त लगानी छैन । व्यावसायिकता पनि छैन । वषौंदेखि यहाँ लिग पनि भएको छैन । यस्तोमा उपाधिकै अपेक्षा गर्नु अलिक यथार्थपरक नहुन पनि सक्छ ।

तर, सधैं सबै हारमा अरुलाई दोष दिएर उम्किन भने मिल्दैन ।

माल्दिभ्सविरुद्ध नेपाली टोलीले आफ्नो वास्तविक लय समातेर स्वाभाविक फुटबल खेल्न सक्यो कि सकेन ?

परिवर्तनको नारासहित एन्फाको नेतृत्वमा पुगेको टिमले घाँसेमैदान नहुँदा नेपाली टोलीको प्रदर्शनमा पर्नसक्ने प्रभावको मूल्यांकन गर्ने सक्यो कि सकेन ?

एसियन गेम्स र साफजस्तो नेपालका लागि महत्वाकांक्षी प्रतियोगिताको मुखैमा गरिएको प्रशिक्षक फेरबदलले प्रदर्शनमा प्रभाव पार्‍यो कि पारेन ?

मध्यरातसम्म बार र पबमा झुम्मिने केही खेलाडीहरुलाई एन्फाले अनुशासनको डोरीमा बाँध्न सक्यो कि सकेन ?

यी सबै प्रश्नहरुको गहन अध्ययन गर्ने हो भने सायद माल्दिभ्सविरुद्ध नेपालले भोगेको हारको वास्तविक कारणहरु पनि भेटिएलान् कि !

५ बर्ष अगाडि

प्रतिक्रिया