पशुपति शमशेर ः ‘घट्दो राजश्वबाट साधारण र विकास खर्च धान्न कठिन ,परिस्थिति असामान्य , सरकार गम्भीर छ कि छैन ?

३ बर्ष अगाडि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले अर्थ व्यवस्था धराशयी हुने टड्कारो संभावनाबीच अर्थतन्त्रको ढाँचा पूनःसंरचना बजेटको मूल हाँक हुने बताएका छन् ।

‘कोभिड–१९ ले ल्याएको संकटका कारण अर्थ व्यवस्थाको वर्तमान संरचना धराशयी हुने टड्कारो संभावना छ । घट्दो राजश्वबाट विकास खर्च त के, साधारण खर्च पनि धान्न मुस्किल पर्न सक्छ,’ अध्यक्ष राणाले सोमबार भने । ‘यी जोखिमको सामना गरी नेपाली अर्थतन्त्रको ढाँचा कसरी पूनःसंरचना गर्ने भन्ने नै यो वर्षको बजेटको मूल हाँक हुनेछ ।’

राणाले भने, ‘घट्दो राजश्वबाट साधारण र विकास खर्च धान्न कठिन देखिन्छ । परिस्थिति असामान्य छ । सरकार गम्भीर छ कि छैन ? हाम्रो चिन्ता यही नै छ ।’

उनले ट्वीट गर्दै भने, ‘विप्रेषण र पर्यटनबाट हुने आम्दानीमा ठूलो गिरावट आउने पक्का छ । आयातको लागत वेहोर्ने स्रोत सुकेर सोधनान्तर स्थितिमा घाटाको ठूलो जोखिम आइलाग्ने अवस्था छ । यही कारणले आयात घटे राजश्वमा पनि गिरावट आउने खतरा छ ।’

नेपाली अर्थतन्त्र अर्थात राजश्वको मूल तीन आधार, विप्रेषण, पर्यटन र वैदेशिक ऋण सहयोग, सीमित रहने दृष्टान्त प्रस्तुत गर्दै राप्रपा अध्यक्ष राणाले सरकारले गम्भीर भएर निकास दिनु पर्नेमा जोड दिए ।

‘विप्रेषण र पर्यटन क्षेत्रको आम्दानी र वैदेशिक ऋण, सहयोगबाट आयात धान्ने संरचना हो नेपालको । यी तीन स्रोतको आम्दानीमा आधारित आयातबाट उठ्ने भन्सार महसुल र भ्याट नै राजश्वको मूल स्रोत हो,’ उनले भने ।

घट्दो राजश्वका कारण साधारण खर्च र विकास खर्च धान्न कठिन हुने अवस्था इंगित गर्दै उनले भने, ‘सरकारले के निकास दिन्छ, हेर्न बाँकि छ ।’

३ बर्ष अगाडि

प्रतिक्रिया