सरकार कृषि गर्न भन्छ, किसानलाई धानको बीउ अभाव छ

३ बर्ष अगाडि

कोरोना सङ्क्रमण नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीका कारण बजारमा अत्यधिक माग हुने धानको बीउको अभाव देखिएको छ । अहिले दाङ जिल्लामा युएस ३१२ हाइब्रिड धानको बीउ कृषकको रोजाइँमा पर्ने गरेको छ । अन्य धानको तुलनामा छिटो पाक्ने, पानी कम हुने जमिनमा पनि उब्जाउ हुने, उत्पादन पनि स्थानीय जातको धानभन्दा झण्डै दोब्बर बढी हुने हुँदा यो धान कृषकको रोजाइँमा परेको हो ।     

कृषकको अत्यधिक माग रहेको यो धानको बीउको अभावले कृषकमा चिन्ता देखिएको छ । “धानको ब्याड राख्ने बेला भइसक्यो तुलसीपुर बजारभर युएस–३१२ हाइब्रिड धानको बीउ खोजेकतै पाइएन”, तुलसीपुर–७ घुसेरीका कृषक टोपबहादुर विकले भने । अझै १२÷१५ दिनसम्ममा धानको बीउ बजारमा नआए खेत बाँझै हुने हो कि भन्ने चिन्ता कृषकमा छ ।     
     
त्यस्तै घोराही–६ लखवारकी कृषक सीता नेपालीेले पनि एक हप्ता पहिले बजारमा आएर सम्पूर्ण एग्रोभेट पसलमा धानको बीउ खोज्दा कतै पाएनन् । उनले भने  “फेरि आजसम्म आयो कि भनेर आएको हुँ, आज पनि पाइएन ”,  अरु धान आफ्नो खेतमा सोचेअनुसारको उत्पादन नहुने भएकाले अझै पनि युएस–३१२ कै बीउलाई नै पर्खने उनले बताए । 
     
तुलसीपुरमा लामो समयदेखि बिटी एग्रोभेट सञ्चालन गर्दै आएका निर्मल आचार्यले जिल्लामा युएस–३१२ धानको बीउ लकडाउन हुनुअघि ६०० क्विन्टल भित्रिएको बताउँछन् । तर, अझै २० प्रतिशत कृषकलाई अपुग भएको अनुमान उनको छ । 
घोराहीको सौर्य एग्रोभेटका सञ्चालक हीरालाल थापाले यो धानको बीउ विगतमा ७० देखि ८० क्विन्टल बेच्ने गरेकामा यो वर्ष ४५ क्विन्टल मात्र आएको र सबै बिक्री भएको बताउँछन् । 
     
उनले युएस–३१२ को विकल्पमा अन्य प्रजातिका हाइब्रिड धानको बीउ रहेकाले कृषकलाई नआत्तिन थापाले सुझाव दिनुभएको छ । युएस–३१२ बीउ धान उत्पादक कम्पनी नेपालका मध्यपश्चिम बिक्री प्रमुख बालकृष्ण लामिछानेका अनुसार कम्पनीमा मौज्दात सकिएकाले धानको बीउ नआएको हो । 
“आवश्यकतानुसार गत वर्षको मागलाई आधार मानेर पहिले नै कम्पनीमा माग गर्नुपर्दछ, सोहीअनुसार हामीले दाङका लागि १५० टन मगाएका थियौँ, त्यसले पुगेन”, लामिछानेले भने । अब यो वर्ष युएस–३१२ धान नआउने हुँदा सम्पूर्ण कृषकलाई अन्य विकल्प खोज्न उनले आग्रह गरे । 

मुलुक कोरोना भाइरसका कारण भएको बन्दाबन्दीले गर्दा स्वदेश तथा विदेशमा रोजगारी गर्ने अधिकांश जनशक्ति घरमा रहेकाले विगतका वर्षमा बाँझै रहने जमिनमा यो वर्ष खेती हुने सम्भावना भएको हुँदा बीउबिजन बढी बिक्री भएको हुनसक्ने बिक्रेताको अनुमान छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया