शेयर खरिद गर्न उक्साउनेलाई कारबाही

६ बर्ष अगाडि

काठमाडौँ -नेपाल धितोपत्र बोर्डले गलत तवरले शेयर खरिद गर्न उक्साएको भन्दै प्रज्ञान सेक्युरेटिजलाई रु ७५ हजार जरिवाना गरेको छ । 

बोर्डले आज जारी गरेको विज्ञप्तिअनुसार भाइबरमा सन्देश पठाएर सो कम्पनीका विराटनगर शाखा प्रमुखले सिभिल बैंकको शेयर खरिद गर्न प्रोत्साहित गरेको पाइएकाले कारबाही गरिएको हो । 

सिभिल बैंकको साधारणसभा अगावै ४० प्रतिशत हकप्रद आउने, शेयर किन्दा राम्रो छ, फाइदा गराउने जिम्मा हाम्रो भयो भन्ने आशयको भाइबरमा म्यासेज ग्रुप बनाएर जानकारी पठाएको पाइएको बोर्डको अध्ययनबाट खुलेको हो । 

धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ७६ बमोजिम धितोपत्र व्यवसाय सञ्चालन गर्ने संस्थाले आफ्नो व्यवसायलाई स्वस्थ र उच्चस्तरीय राख्ने, उचित सीप, होसियारी र मेहनतका साथ धितोपत्र व्यवसाय गर्ने, धितोपत्र बजारको उच्च मर्यादा राख्ने, धितोपत्र व्यवसायसँग सम्बन्धित अभिलेख राम्रोसँग राख्ने, धितोपत्र व्यवसाय सञ्चालन गर्ने, व्यावसायिक आचरणमा रहनुपर्ने भएपनि त्यसो नगरेको पाइएको बोर्डको भनाइ छ । 

बोर्डले धितोपत्र व्यवसायीलाई धितोपत्र व्यवसाय सञ्चालन गर्दा आफूले पालन गर्नुपर्ने, व्यावसायिक सिद्धान्तको पालनातर्फ थप सजग गराउने र दोस्रो बजार कारोबार थप व्यवस्थित र पारदर्शी हुन सहयोग पुग्ने उल्लेख गरेको छ । 

बोर्डका अनुसार ती शाखा प्रमुखले सिभिल बैंकले ४० प्रतिशत हकप्रद शेयर दिन लागेको र शेयर किन्दा फाइदा हुने र फाइदाको जिम्मा आफ्नो भएको आशयको सूचना जारी गरेका थिए । 

संस्थाले आफ्नो व्यवसायलाई स्वस्थ र उच्चस्तरीय राख्ने, उचित सीप, होसियारी र मेहनतका साथ धितोपत्र व्यवसाय गर्ने, धितोपत्र बजारको उच्च मर्यादा कायम राख्नुपर्नेमा यस्तो नगरेको भन्दै कारबाही गरिएको जनाएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया