रुकुम घटनाबारे सुष्मा मल्लको पक्ष लिएको भन्दै रेखाको आलोचना

३ बर्ष अगाडि

अभिनेत्री रेखा थापाका लागि विवाद र आलोचना नौलो होइन । दशक अगाडि फिल्ममा लगाउने छोटा पहिरनका कारण उनी निरन्तर आलोचित बन्ने गरेकी थिइन् । पछिल्लो समय भने विभिन्न विषयमा गर्ने टिप्पणीका कारण उनी विवादमा तानिरहेकी हुन्छिन् । मंगलवार फेसबुकमा रुकुममा घटेको घटनाको बारेमा आफ्नो भनाई राखेपछि उनी पुनः आलोचनाको पात्र बनेकी छन् ।
 
उनले रुकुम घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै उक्त घटनासँग जोडिएकी सुष्मा मल्ल ठकुरीको चरित्रहत्या नगर्न आग्रह गरेकी थिइन् । अभिनेत्री थापाले फेसबुकमा लेखेकी थिइन्, ‘यस घटनामा जोडिएकी किशोरीको बारेमा जसरी चरित्र हत्या गर्ने खालका र नारी अस्मिताको धज्जी उडाउने काम भएको छ, त्यसले फेरि पनि उत्पीडित वर्गमाथि प्रहार भयो भन्ने लाग्छ ।’
 
रेखाको यो भनाईप्रति केहीले समर्थन जनाएका छन् भने ठूलो संख्या उनको विरोधमा उत्रिएको छ । उनले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेको स्टाटसमा साढे तीन हजारभन्दा बढी कमेन्ट कोरिएका छन्, जसमा अधिकांशले सुष्मा मल्लको पक्ष लिएर बोलेको भन्दै आलोचना गरेका छन् । कतिले उनलाई उत्तेजित भएर विवादास्पक कुरा नगर्न पनि सुझाव दिएका छन् ।
 
रेखाले लेखेको स्टाटसमा कमेन्ट गर्दै आरएल ताम्राकारले लेखेका छन्, ‘रेखाजी तपाईं नाटक र फिल्म खेल्न मात्र सुहाउनुहुन्छ । २  ४ जनाले तपाईंलाई महिला अधिकारकर्मी भन्दैमा उत्तेजित भइ विवादास्पक कुरा सामाजिक सञ्जालमा नलेख्नुस् । त्यति ज्ञान तपाईंमा छैन । वास्तविकता बुझ्नु अनि मात्र सामाजिक सञ्जालमा लेख्नु । अन्तरजातिय बेहे गर्नमा आटिली बालिका अरे तात्तो न छारो । रूकुमको घटना निहालेर हेर्ने हो भने बरू सुष्मा मल्लले नै असल नारीत्वको धज्जिया उडाएको देखिन्छ ।’
 
त्यस्तै, ववि विके सिरपाली लेख्छन्, ‘रेखा दिदी हजुर पनि नारी हो । ६ जना मर्ने केटाहरुको पनि आमा नारी हुन् । आज उहाँहरुको काख रित्तिएको छ । यो पिडा कसले बुझिदिने ? अर्को कुरा हजुरले एउटा दलित केटासँग प्रेम गर्ने पनि सहास भन्नुभयो तर अरुलाई मारेर गरेको प्रेमको के अर्थ देख्नु भयो र ?’ कतिले उनलाई दोषीको बचाउ गरेर न्याय माग्न थालेको आरोप पनि लगाएका छन् ।

फेसबुक प्रयोगकर्ता श्यानेश श्रेष्ठ विवादमा नआएको धेरै समय भएकाले रुकुम घटनाबारे बोलेर आफू भाइरल हुन खोजेको भन्दै रेखामाथि खनिएका छन् । त्यस्तै, दुर्गा सुवेदीले ६ जनाको मृत्य हुँदा एक शब्द बोल्न नसक्नेले नैतिकताको कुरा सिकाउन नमिल्ने बताएका छन् । रुकुम घटनाबारे रेखाको भनाईलाई लिएर अहिले सामाजिक सञ्जालमा विभिन्न खाले टिकाटिप्पणी भैरहेका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया