इन्डोनेसियाका मस्जिदहरुमा प्रार्थना गर्न छुट, विश्वभर जनजीवन सहज बन्दै

३ बर्ष अगाडि

इन्डोनेसियाको राजधानी जकार्तामा मुस्लिम समुदायले नौ हप्तापछि पहिलो पटक मस्जिदहरुमा सामूहिक प्रार्थना गरेका छन् । कोरोनाभाइरसका कारण बन्द गरिएका मस्जिदहरु पुनः खुला गरिएको हो ।

प्रार्थनामा सहभागी हुन चाहने व्यक्तिहरुको मस्जिदको ढोकामा शरीरको तापक्रम लिनुका साथै हातमा स्यानिटाइजर लगाइएको थियो । प्रहरी र सेनाले सहभागी व्यक्तिहरुले सामाजिक दूरी कायम गरे नगरेको तथा मास्क लगाए नलगाएको अनुमगन गरेका थिए ।

प्रार्थना गर्दा आवश्यक पर्ने सरसामान आफैं ल्याउनु पर्ने तथा हात मिलाउन वा अंगालो मार्न निषेध गर्नुका साथै एक अर्काबीच कम्तीमा ३ फिटको दूरी कायम गर्न भनिएको छ । 
इन्डोनेसियामा कोरोनाभाइरसबाट हालसम्म २८ हजार ८१८ जना संक्रमित भएका र १ हजार ७२१ जनाको मृत्यु भएको छ । 

राष्ट्रपति जोको विडोडोले कोरोनाभाइरसबाट सुरक्षित रहँदै मुलुकको अर्थतन्त्रलाई सही ठाउँमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

सरकारले स्वास्थ्य नियमहरुको परिपालना गराउन तीन लाख ४० हजार सुरक्षाकर्मी परिचालन गरेको छ । इन्डोनेसियामा जुलाईको अन्त्यदेखि प्रतिबन्धहरु पूर्णरुपमा हटाउने तयारी भइरहेको छ । 

प्राग – चेक गणतन्त्रले छिमेकी मुलुकहरु अस्ट्रिया, जर्मनी र हङ्गेरीबाट हुने यात्रा प्रतिबन्धहरु पूरै हटाएको छ । 

प्रधानमन्त्री आन्द्रेज बाबिसले तीन मुलुकमा रहेका तर कोरोनाभाइरस नेगेटिभ रहेका चेक नागरिकलाई स्वदेश फर्कन अनुमति दिइएको बताए । 

चेक गणतन्त्र र स्लोभाकियाले बिहीबार साझा सीमामा लागू सबै प्रतिबन्धहरु रद्द गरेका छन् । 

प्रधानमन्त्री बाबिसले सीमा खुला गरेसँगै पर्यटन र व्यापार क्षेत्रले पुनर्जीवन प्राप्त गर्ने विश्वास व्यक्त गरे । कोरोनाभाइरस महामारीका कारण चेक गणतन्त्रको अर्थतन्त्रमा ठूलो नोक्सानी भएको थियो ।

वेलिङ्टन – फिजीले कोरोनाभाइरसबाट आफू मुक्त भएको घोषणा गरेको छ । यहाँका सबै १८ जना संक्रमित व्यक्ति निको भएर डिस्चार्ज भएका छन् । 

प्रधानमन्त्री फ्रान्क बाइनीमारामाले शुक्रबार आफ्नो मुलुकमा भेटिएका सबै कोरोना संक्रमित निको भइसकेको बताएका छन्  । 

करिब ९ लाख जनसंख्या रहेको फिजीमा गत अप्रिलमा केही निश्चित क्षेत्रमा लकडाउन गर्नुका साथै सीमा क्षेत्रमा आवातजावतमा प्रतिबन्ध लगाइएको थियो । 

मनिलाः फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले कोरोनाभाइरसका कारण उत्पन्न परिस्थितिको सामना गर्न फिलिपिनी नागरिकले गरेको सहयोगका लागि आभार व्यक्त गर्नु भएको छ । 

उनले क्वारेन्टिनमा देखिएका समस्याबारे सोधिएका प्रश्नको जवाफ दिँदै महामारीका बीच कुनै गरिब परिवारले आवश्यक सहयोग नपाएको पाइए सम्बन्धित अधिकारीमाथि कडा कारबाही गरिने चेतावनी दिए । 

टेलिभिजनमा सम्बोधन गर्दै राष्ट्रपति डुटेर्टेले कोरोना संक्रमित भएर ज्यान गुमाएका ३२ जना स्वास्थ्यकर्मीका परिवारले राहत नपाएको गुनासोप्रति रोष प्रकट गरे ।

अधिकारीहरुले फिलिपिन्समा बेरोजगारी करिब १७।७ प्रतिशत पुगेको बताएका छन् । 

फिलिपिन्समा २० हजार ३८२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको र करिब एक हजारको मृत्यु भएको छ । 

संयुक्तराष्ट्र संघ – संयुक्तराष्ट्र संघले कोरोनाभाइरस महामारीका कारण माली र अफ्रिकाको साहेल क्षेत्रमा गम्भीर मानवीय तथा सुरक्षा चुनौती खडा भएको जनाएको छ । 

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सुरक्षा परिषदमा बुझाउनु भएको एक प्रतिवेदनमा अल–कायदा र इस्लामिक स्टेट समूहसँग आबद्ध आतंकवादीका कारण शान्ति सुरक्षामा गम्भीर खतरा उत्पन्न भएको उल्लेख गरेका छन् ।

उनका अनुसार आतंककारीहरुले नागरिकमाथि आक्रमण गर्ने खतरा छ । मालीको सेना र अन्तर्राष्ट्रिय फौजलाई उत्तरी र मध्य मालीमा तैनाथ गरिएको भए पनि उत्तरी मालीमा मुख्य रुपमा खतरा उत्पन्न भएको उनको भनाई छ । 

राष्ट्रसंघका अनुसार अल–कायदा र इस्लामिक स्टेटका लडाकूबीच पनि ठाउँठाउँमा भिडन्त भएका छन् । 

मालीमा करिब ३५ लाख मानिस खाद्य असुरक्षाबाट पीडित भएका छन् । 

सियोलः दक्षिण कोरियामा विगत २४ घण्टाको अवधिमा ३९ जना नयाँ कोरोनाभाइरस संक्रमित व्यक्ति भेटिएका छन् । 

कोरिया रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९केसीडीसी० का अनुसार पछिल्लो विवरण सहित देशभर कूल संक्रमितको संख्या ११ हजार ६६८ पुगेको छ भने २७३ जनाको मृत्यु भएको छ । 
पछिल्लो पटक भेटिएका व्यक्तिहरु सियोल महानगरको घनाबस्ती क्षेत्रका बासिन्दा हुन् । 

दक्षिण कोरियामा सामाजिक दूरी समेतका कडा नियममा सहजता तुल्याएसँगै नयाँ संक्रमित भेटिएका छन् । तर नयाँ संक्रमितको संख्या ठूलो मात्रामा वृद्धि भएको छैन । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया