‘आइसोलेशन वार्ड’ बाट सेवा शुरु

३ बर्ष अगाडि

कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचारका लागि धनगढीमा निर्माण गरिएको ५० श्ययाको ‘आइसोलेशन वार्ड’ बाट सेवा शुरु गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएको बजेटबाट स्वास्थ्य कार्यालय कैलालीले ५० श्ययाको ‘आइसोलेशन वार्ड’ निर्माण गरी सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गरिएको छ । हस्तान्तरण गरिएको सो आइसोलेशन वार्डबाट बिहीबारदेखि सेवा सञ्चालन गरिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए  ।

वार्डमा जेनेरेटर, खानेपानी, भेन्टिलेटरसहित पाँच श्ययाको आइसियु, अक्सिजन सप्लाई, विद्युत्को थ्री फेज लाइन, सिसी टिभीलगायत आवश्यक पूर्वाधार उपकरण जडान गरी सेवा सञ्चालन गरिएको बताइएको छ । छुट्टै मेडिकल टोली परिचालन गरेर सेती प्रादेशिक अस्पतालमा रहेका २६ जना कोरोना सङ्क्रमितलाई सो वार्डमा सारिएको सूचना अधिकारी श्रेष्ठले बताए । उनतले भने, “अहिले ४८ वटा श्यया राखेर सेवा शुरु गरिएको छ, केही दिनमा अन्य श्यया पनि थपिने छन् ।”

सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालय कैलाली र कञ्चनपुरको महाकाली अस्पताललाई ५०÷५० श्ययाको छुट्टै आइसोलेशन वार्ड निर्माणका लागि रु एक÷एक करोडको अख्तियारी दिएपछि धनगढीमा वार्ड निर्माणको कार्य शुरु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए ।

“आइसोलेशन वार्डको भवन निर्माणका लागि किनारा कन्स्ट्रक्सन प्राइभेट लिमिटेडसँग रु ९४ लाखमा एक महिनाभित्र काम सम्पन्न गरिसक्नुपर्ने गरी ठेक्का सम्झौता भएको र तोकिएकै समयावधिमा भवन निर्माणको कार्य पनि सम्पन्न भएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले जानकारी दिए ।

आइसोलेशन वार्ड वडा प्रहरी कार्यालय धनगढीको ठीक विपरीत दिशातर्फ रहेको कैलाली जिल्ला समन्वय समतिको जमिनमा प्रि–फ्याव प्रविधिमा निर्माण गरिएको छ । गत जेठ १२ गते सामाजिक विकास मन्त्रालयले उक्त नयाँ निर्मित वार्ड सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेको थियो ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया