विद्युतगृह सञ्चालन गर्न लिज फिर्ता

३ बर्ष अगाडि

साना जलविद्युत् उपभोक्ता समिति जुम्लाले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रलाई विद्युतगृह सञ्चालन गर्न लिज फिर्ता गरेको छ ।  सो समितिले विद्युतगृह बाह्र वर्षदेखि सञ्चालन गर्दै आएको थियो ।

 विसं २०४० मा निर्माण भएको सो विद्युतगृहलाई शुरुआती वर्षमा प्राधिकरण आफँैले सञ्चालन गरेको थियो । 

सरकारले लिजमा दिने निर्णयगरेसँगै जाल्फा हाइड्रो प्रालिले लिजमा लिएर विद्युत् सञ्चालन गरेको थियो । उसले पनि राम्रोसँग विद्युतगृहलाई सञ्चालन गर्न नसकेपछि २०६४ सालमा सञ्चालक समिति गठन गरेर साना जलविद्युत् उपभोक्ता समितिलाई जिम्मा दिएको समितिका अध्यक्ष विष्णुबहादुर बुढ्थापाले बताए ।

समितिले लिजमा लिएपछि पोखरी सुधारदेखि धेरै काम गरेको र भारतीय दूतावासको सहयोगमा रु दुई करोड ६६ लाख ७४ हजारको सहयोगमा दुईवटा नयाँ जेनेरेटरसमेत ल्याएको उनले जानकारी दिए । 

समितिको स्वामित्वमा रहेका सबै आर्थिक क्रियाकलाप  केन्द्रलाई  नै हस्तान्तरण गरेको र समिति अन्तर्गत  काम गर्दै आएका २३ जना कर्मचारीलाई समेत व्यवस्थापन गरिदिनका लागि प्राधिकरणलाई अनुरोध गरिएको समितिले जनाएको छ । 

लिजमा लिएर बिजुली सञ्चालन गर्दा घाटा व्यहोर्नु परेको उनले गुनासो गरे  । दुई हजार ९०० उपभोक्ताबाट प्रत्येक महिना झण्डै रु दुई लाख ५० हजार सङ्कलन हुनेगरे पनि २३ जना कर्मचारीलाई सेवा सुविधा उपलब्ध गराउँदा रु ३ लाख ५० हजार खर्च हुने गरेको थियो । अपुग रकम बिजुलीको लाइन बिक्रीबाट भएको आम्दानीले खर्च व्यवस्थापन हुने गरेको थियो ।  सो विद्युत्मा उपभोक्ताबाट भण्डै रु ४९ लाख सङ्कलन हुन बाँकी रहेको छ । 

अब प्राधिकरणलाई विवरण उपलब्ध गराइएको हुनाले उसैले रकम उठाउने भएको छ । लिज फिर्ता गरी केन्द्रले काम सञ्चालन अगाडि बढाएको केन्द्र प्रमुख गौरव पाण्डेले बताए ।

उनका अनुसार २० वर्षपछि प्राधिकरणको उपस्थित भएकाले अबबाट यहाँका नागरिकले सस्तोमा बिजुली प्रयोग गर्न पाउने छन् ।  न्यूनतम रु ३० मासिक शुल्क लाग्ने प्राधिकरणले जनाएको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया