प्रधानमन्त्रीकै अगाडि बालुवाटारमा भनाभन

५ बर्ष अगाडि

काठमाडौं – प्रधानमन्त्री केपीलाई भेट्न निर्मला पन्तका आमा बाबुसहितको टोली सोमबार बिहान बालुवाटार पुगेको थियो । नेकपा नेतृ एवं सांसद निरु पालले प्रधानमन्त्रीले टोलीका तीनजनालाई मात्र भेट्न सक्ने जानकारी गराएकी थिइन् । 

तर, कञ्चनपुरदेखि नै आएको ११ जनाको सिंगो टोलीले भेट्न पाउनुपर्ने सर्त संघर्षसमितिले राखेपछि सबैलाई बालुवाटार बोलाइएको थियो । 

बालुवाटारमा प्रधानमन्त्रीसहित नेकपाका नेता भीम रावल, लेखराज भट्ट, कर्णबहादुर थापा, दीपकप्रसाद भट्ट तथा कांग्रेस नेता एनपी साउद र दिलेन्द्र बडूलगायत थिए । बैठकको सुरुवात गदै भीम रावलले आमा र बाबुमध्ये एकजनाले मात्र बोल्न पाउने सर्त राखेका थिए । त्यसैले आमा दुर्गादेवीले आफ्नो भनाइ राखिन् । 

दुर्गादेवीपछि कांग्रेस नेता साउदले बोले । उनले अनुसन्धानमा चरम लापरबाही भएको भन्दै गम्भीरताका साथ अनुसन्धान गर्न सरकारलाई अनुरोध गरे । 

साउदपछि संघर्ष समितिकी संयोजक मीना भण्डारीले आफूहरुले पनि बोल्न पाउनु पर्ने माग राखिन् । उनलाई बोल्ने समय दिइयो । भण्डारीले आफ्नो भनाइका क्रममा भीम रावलको अभिव्यक्तिले जनता आक्रोशित भएको बताउनासाथ रावलले उनलाई रोके । 

रावल बोलिरहेकै बेला चर्को ढंगले विरोध गरिरहेकी एक महिलालाई सुरक्षाकर्मीले बाहिर निकाले । त्यसपछि वातावरण उत्तेजित भयो । केहीबेर भनाभन भएपछि रावलले हस्तक्षेप गरेर दुवै पक्षलाई रोके । स्थिति शान्त बनाउँदै प्रधानमन्त्रीले बोल्न थाले । आजको नयाँ पत्रिकामा विस्तृतमा समाचार छापिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया