दक्षिण कोरियाका राष्ट्रपति उत्तर कोरियाको भ्रमणमा, कीम जोङद्धारा भव्य स्वागत

५ बर्ष अगाडि

दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इन र उत्तर कोरियाका नेता कीम जोङ–उन सवार कार्गेडलाई मङ्गलबार प्योङयाङका सडकका दुबै किनारामा रङ्गीबिरङ्गी वेशभूषामा सजिएका हजारौं सर्वसाधारणले भव्य स्वागत गरेका छन् । 

उत्तर कोरियाली नेतासँगको तीनदिने शिखर बैठकका लागि दक्षिण कोरियाका राष्ट्रपति आजै सिधा उडानबाट प्योङयाङ पुग्नु भएको हो । 

नेता कीमले प्योङयाङ अन्तर्राष्ट्रिय विमानस्थलमा दक्षिण कोरियाली समकक्षीलाई स्वागत गर्नुभएको थियो । दक्षिण कोरियाली नेतालाई स्वागत गर्न कीम आफैं विमानस्थल पुग्नुभएको थियो । 

सडक किनारामा कोरियाली नेतालाई स्वागत गर्न उभिएका सर्वसाधारणले उत्तर कोरियाली झण्डाका साथै कोरियाली एकीकरणको सङ्केतमूलक झण्डा फहराएका थिए । दक्षिण कोरियाको झण्डा भने यहाँ फहराइएको थिएन । 

माथिल्लो भाग खुला रहेको मोटरकारबाट दुबै नेताले सर्वसाधारणको अभिवादनलाई स्वागत गरेका थिए । 

दक्षिण कोरियाली राष्ट्रपति मुनको यो तीनदिने औपचारिक भ्रमण हो । यसअघि सन् २००० मा कीम दाए–जङ र २००७ मा रोह मू–ह्युनले उत्तर कोरियाको भ्रमण गर्नुभएको थियो । 

उत्तर कोरियाली समाचार संस्था केसीएनएले दुबै नेताबीचको शिखर बैठक इतिहासमै नयाँ उचाइमा पुगेको अन्तर–कोरियाली सम्बन्धलाई थप तिब्र पार्न महत्वपूर्ण अवसर हुने बताएको छ । 

यसअघि सीमावर्ती असैनिक क्षेत्रमा यसै वर्षको अप्रिल र मे महिनामा दुई पटक दुई कोरियाली नेताको भेटवार्ता भइसकेको छ । 

दक्षिण कोरियाली राष्ट्रपतिकै प्रयासमा उत्तर कोरियाली नेता कीम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच जुनमा सिंगापुरमा पहिलो ऐतिहासिक शिखर बैठक भएको थियो । उक्त बैठकमा कोरियाली द्वीपलाई पूर्ण निःशस्त्रीकरण गर्न उत्तर कोरियाले प्रतिबद्धता जनाएको थियो । 

तर पछिल्ला दिनमा उत्तर कोरियाले प्रतिबद्धता पूरा नगरेको भन्दै अमेरिकाले थप वार्ता र भेटघाटमा कमी ल्याएको छ । 

संयुक्तराज्य अमेरिकाले हाल उत्तर कोरियामाथि यथार्थपरक आणविक निःशस्त्रीकरणका लागि दबाब दिइआएको छ । उत्तर कोरियाले भने सन् १९५०–५३ को कोरियाली युद्ध औपचारिक रुपमा अन्त्य भएको घोषणा गर्नुपर्ने बताउँदै आएको छ । अमेरिकी नेतृत्वको आर्थिक नाकाबन्दीका कारण चरम सङ्कट झेलिरहेको उत्तर कोरियाले आणविक निःशस्त्रीकरण गर्ने विषय मात्र स्वीकार्य नहुने जनाएको छ । 

अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण कोरियाली नेताले उत्तरसँग यसअघि भएका सहमतिको पूर्ण कार्यान्वयनका सम्बन्धमा थप विचारविमर्श गर्ने अपेक्षा गर्नुभएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया