ठमेलको दिगो विकासका लागि व्यवसायी र घरधनी मिलेर अगाडि बढ्ने

३ बर्ष अगाडि

नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको ठमेलको दिगो विकासका लागि ठमेल क्षेत्रका व्यवसायी र घरधनी मिलेर अगाडि बढ्ने भएका छन् । विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसले मुलुकको पर्यटन क्षेत्रमा ठूलो प्रभाव पारेको भन्दै यसको सामनाका लागि एकजुट भएर अगाडि बढ्न लागेका हुन् ।

ठमेल पर्यटन विकास परिषद्ले मङ्गलबार साँझ प्रेस विज्ञप्ति जारी गरी पर्यटक भए पर्यटन व्यवसाय रहने, व्यवसाय रहे घरधनी रहने र व्यवसायी र घरधनी रहे ठमेल रहने भएकाले सबै मिलेर वर्तमान समस्याको समाधान गर्नुपर्ने बताएको छ ।

ठमेलले हिजोका दिनमा सरकारलाई राजश्व, विदेशी मुद्रा र रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै आजको दिनमा ठमेलको पर्यटन क्षेत्र बचाउन सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताएको छ । परिषद्ले कोभिड–१९ का कारण व्यवसायी ठूलो मर्कामा परेको भन्दै न्यूनतम व्याजदरमा सहुलियत ऋण, विद्युत् सेवा शुल्क, इन्टरनेट सेवा शुल्क एक वर्षसम्म मिनाह गर्न माग गरेको छ ।
 
परिषद्का उपाध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रको पर्यटन जोगाउनका लागि घरधनी, व्यवसायी एकजुट भएर अगाडि बढ्नुपर्ने बताए । घरधनीले घरभाडाका सम्बन्धमा व्यवसायीलाई दिनुपर्ने सहुलियतको विषयमा समेत परिषद्ले व्यवसायीसँग छलफल चलाउँदै आएको उनको भनाइ छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया