कोरोना कहरले प्रभावित भयो ‘पर्यटन करिडोर’

३ बर्ष अगाडि

सुदूरपश्चिम प्रदेशका धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने ध्येयले यहाँ निर्माण गर्न लागिएको पर्यटन करिडोरको काम कोरोना कहरले प्रभावित  पारेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षमा पाँच वटा करिडोर सञ्चालन गर्न रु १३ करोड रकम विनियोजन गरेको थियो । ती करिडोरमा कञ्चनपुरको भीमदत्तनगरदेखि दार्चुला, खुटियादेखि खप्तड, कैलालीको खग्रौलादेखि रामारोशन–बडिमालिका, बैतडीको झुलाघाटदेखि खाड्पे हुँदै बझाङ्ग र धनगढी–बुडर बझाङ्ग– कैलाशमान सरोवर रहेका छन् । 

तर आवको शुरुआतमा प्रक्रियागत कारण र पछिल्लो समय बन्दाबन्दीले उक्त काम शुरुआत हुन सकेनन् । प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ धनगढीका प्रमुख किशोर अर्यालले बन्दाबन्दीले करिडोरलगायत अन्य नियमित कामहरु योजनाअनुसार गर्न नसकिएको बताए  ।

“काम हुन भनेकै चैत यता हो तर बन्दाबन्दीले शुरु नै गर्न सकिएन ।” उनले रासससित भने, “तीन वर्षीय रणनीतिक योजना बनाएर अघि बढ्ने तयारी थियो ।” 

“काम गर्न पाएको भए करिडोर र आसपासका क्षेत्रका पर्यटकीय गन्तव्यको सम्भाव्यताको खोजी गर्दै विकास गर्ने योजना थियो ।” उनले भने, “बन्दाबन्दीले प्रभावित भए पनि आगामी वर्ष पनि उक्त कार्यक्रमलाई प्रदेश सरकारले प्राथमिकतामै राखेको छ ।”

करिडोरमा पर्यटन पूर्वाधार, भ्युटार, पदमार्ग  र पर्यटन विकास कार्यक्रमहरु सञ्चालन गर्ने प्रदेश सरकारको तयारी रहेको उनले बताए । “पर्यटकीय वस्तु तथा सेवा सुविधाका लागि लगानी गर्ने र पर्यटन प्रर्वद्धन कार्यक्रम छन् ।” उनले भने, “अरु कार्यक्रमसमेत गरेर रु २० करोड रकम फ्रिज जादैँछ ।”

प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइले प्राकृतिक पर्यटन विकास कार्यक्रमहरु सञ्चालन, धार्मिक संस्कृति पर्यटन विकास कार्यक्रम तथा ऐतिहासिक गडी÷किल्ला संरक्षण लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया