म्यूजिक भिडियोमा अब प्रदीपको पालो

३ बर्ष अगाडि

फिल्म ‘प्रेमगीत’ पछि नेपाली फिल्ममा आफूलाई स्टारको रुपमा उभ्याएका अभिनेता प्रदीप खड्काको पनि अब म्यूजिक भिडियोतर्फ आकर्षण बढ्न थालेको छ । उनले लकडाउनको समयमा मात्र दुईवटा म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् । ‘सुनौलो दिन फर्किनेछ’ उनी अभिनीत पहिलो म्यूजिक भिडियो हो । केही दिनमा उनको अर्को भिडियो पनि सार्वजनिक हुँदैछ । 
 
फिल्म ‘प्रेमगीत ३’ को प्रदर्शन रोकिएपछि फुर्सदिला भएका उनले ‘जोनी जेन्टलम्यान’ फेम्ड निर्देशक नितिन चन्दले निर्देशन गरेको ‘जय जय नेपाल’ बोलेको गीतको भिडियोमा अभिनय गरेका छन् । सत्यराज आचार्य, स्वरुपराज आचार्य, प्रताप दास, प्रविशा अधिकारीको स्वर रहेको गीतको छायांकन केही दिनअघि धुलिखेलमा गरिएको थियो, जसको पोस्टर पनि सार्वजनिक भएको छ ।
 
‘सुनौलो दिन फर्किनेछ’ गीतमा कोरोनाविरुद्धको लडाईं सबैले मिलेर लड्नुपर्ने सन्देश दिइएको थियो । ‘जय जय नेपाल’ गीतमा राष्ट्रप्रतिको प्रेमलाई दर्शाइएको हुनसक्ने पोस्टर हेर्दा अनुमान गर्न सकिन्छ । रोमान्टिक गीतमा मोडलको वरिपरि ननाचे पनि फिल्म करिअर सुखद बन्न नसकेपछि प्रदीपले म्यूजिक भिडियामा आफ्नो उपस्थिति जनाएको हुनसक्ने कतिपयको विश्लेषण छ ।
 
प्रदीप, नेपाली फिल्मका डिमान्डेड र महँगा अभिनेतामध्ये एक हुन् । एक फिल्मका लागि उनले ४० लाखसम्म पारिश्रमिक बुझ्ने गरेको चर्चा छ । तर, ‘प्रेमगीत’ सिरिजबाहेक उनी अभिनीत कुनै फिल्म बक्सअफिसमा सफल छैनन् । अब, म्यूजिक भिडियोको दुनियाँमा खाता खोलेका उनको मोडलको रुपमा कस्तो करिअर होला ? हेर्न बाँकी छ । पलजी, बजारमा तपाईंको प्रतिस्पर्धी जन्मिएको छ है !
 

३ बर्ष अगाडि

प्रतिक्रिया