सरिफलाई रिहा गर्न अदालतको आदेश

५ बर्ष अगाडि

इस्लामावाद–पाकिस्तानका पूर्वप्रधानमन्त्रीसहित तीन जनालाई जेलमुक्त गर्न अदालतले आदेश दिएको छ । 

पूर्वप्रधानमन्त्री नवाज सरिफ, उनकी छोरी मार्याम र ज्वाई क्याप्टेन सफ्दरलाई बुधबार इस्लामावाद उच्च अदालतले रिहा गर्न आदेश दिएको हो । 

भ्रष्टाचारसम्बन्धी मुद्दा लागेका उनीहरुलाई अदालतको अन्तिम टुङ्गो नलाग्दासम्म रिहा गर्न आदेश दिएको सरिफका वकिल खवाज हरिशले जानकारी दिए । 

अदालतले निर्णय सुनाउँदै गर्दा अदालत बाहिर उनका समर्थकहरुले सरीफको पक्षमा खुशीयालीसहित चर्को नाराबाजी गरेका थिए । 

उनलाई गत जुलाईमा स्वदेश फर्किनेबित्तिकै पक्राउ गरिएको थियो । निर्वाचनको पूर्वसन्ध्यामा उनी बेलायतबाट स्वदेश फर्किएका थिए। सरीफले जेलसजाय काट्न शुरू गरेको दुई महिनापछि अदालतले रिहा गर्न लगाएको हो । 

भ्रष्टाचार विरुद्धको एउटा अदालतले पानामा पेपर प्रकरणमा दोषी ठहर गरी नवाजलाई १० वर्ष र मार्यमलाई सात वर्षको जेल सजाय सुनाएको थियो । त्यसैगरी मुद्दामा नसघाएको भन्दै सरिफका ज्वाइँ सफ्दरलाई एक वर्ष जेल सजाय सुनाइएको थियो । 

उहाँनीहरुलाई यसअघि सुनाइएको फैसलालाई निलम्बन गरिएको छ । 

सरिफकी क्यान्सरपीडित श्रीमती कुलसुम नवाजको उपचारका क्रममा लण्डनमा निधन भएको एक हप्तापछि अदालतको आदेश आएको छ । 

कुलसुमको अन्तिम संस्कारमा सहभागी हुन नवाज र मार्यम दुवैलाई अनुमति दिइएको थियो र सहभागी भएपछि फेरि जेलमै राखिएको थियो । 

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार बुधवार अबेर सम्ममा जमानतमा उनीहरु रिहा हुने अनुमान गरिएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया