बन्दाबन्दीका कारण रोकिएको आधुनिक सडक निर्माण गर्दै भीमदत्तनगर

३ बर्ष अगाडि

कोभिड–१९ रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण निर्माण कार्य अगाडि बढ्न नसकेको भीमदत्तनगर बजार क्षेत्रको पक्की नालिसहित सडक निर्माणको कार्य शुरु गरिने भएको छ ।

भीमदत्त नगर बजारलाई आधुनिक सहरका रुपमा विकास गर्ने लक्ष्यका साथ क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत बजारका सबै गल्लीमा नालीसहित सडक बनाउन लागिएका हुन् । सडक निर्माणका लागि रु एक अर्ब ७६ करोडको बोलपत्र आव्हान भैसकेको छ । 

भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले कोरोना महामारीका कारण सडक निर्माणको कार्य केही ढिलो भएपनि ठेक्का बन्दोवस्ती भइ सकेको बताए । “सडक निर्माणको कार्य समयमै शुरु गरेर निर्धारित समयमै पूरा गर्ने लक्ष्य लिएका छौँ”, उनले भने, “साझेदार संस्था निर्धारि तसमयमै निर्माण कार्य पूरा गर्ने सहमति भएको छ ।” 


भीमदत्त नगर बजारका पाँचै गल्लीमा १३ दशमलव ८५ किलोमिटर नालीसहित सडक निर्माण गर्ने योजना छ । क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत भीमदत्त नगरपालिकामा ३५ किलोमिटर नालीसहित पक्की सडक निर्माण गरिनेछ ।

त्यसमध्ये पहिलो चरणमा बजार क्षेत्रमा सडक बनाउन लागिएको हो । पहिलो चरणमा पाँच गल्लीमा नालीसहित उच्च गुणस्तरीय सडक बनाइने र त्यसपछि अन्य सडक निर्माणको कार्य शुरु गरिने नगरप्रमुख विष्टले बताए ।

 नालीसहितका पक्की सडकका लागि सबै पुराना सडक भत्काइने भएका छन् । सडक निर्माणसँगै फुटपाथ हटाइने भएको छ । 

नगरपालिकाका अनुसार सबै सडक ७ दशमलव ५० मिटर चौडा आधुनिक तरिकाले कालोपत्रे गरिनेछ । 

पशिम सीमा नाकाको सहर महेन्द्रनगर भारतको राजधानी दिल्लीदेखि झण्डै ३५० किलोटिमर दूरीमा छ । भीमदत्त नगरमा गत वर्ष आधुनिक बसपार्क निर्माण गरी सञ्चालमा आएको छ । 

भीमदत्त नगरपालिकामा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण, सडक निर्माण लगायतका योजना सञ्चालनमा रहेका छन । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया